युवाशक्ति रोजगारीका लागि विदेश पलायन चिन्ताको विषय हो : उपाध्यक्ष पाण्डे
nagariknews.nagariknetwork.com · Wed Jun 10 10:34:45 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले नेपाली युवाशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन हुनु चिन्ताको विषय भएको बताएका छन्।
पाण्डेले स्वदेशमै मर्यादित तथा उत्पादनमुखी रोजगारी सिर्जना गर्न लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिए।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल आर्थिक रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गरे।
सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा पहल गरिरहेको भए पनि आर्थिक वृद्धि सुस्त हुनु, औद्योगिक विकास सीमित रहनु र व्यवसायिक लागत बढ्दै जानुजस्ता चुनौती अझै कायम रहेको उनको भनाइ थियो।
डिजिटल अर्थतन्त्रको विस्तारसँगै अनलाइन व्यवसाय, राइड–सेयरिङ तथा डेलिभरी प्लेटफर्ममा युवाको संलग्नता तीव्र रूपमा बढेको उल्लेख गर्दै उनले यसले नयाँ अवसर सिर्जना गरे पनि श्रम मापदण्ड र सामाजिक सुरक्षासम्बन्धी नयाँ बहस जन्माएको बताए।
उनले नेपालजस्ता विकासशील मुलुकमा श्रम सुधार तथा कानुनी व्यवस्था लागू गर्दा राष्ट्रिय आवश्यकता, संस्थागत क्षमता र आर्थिक अवस्थाअनुसार लचकता अपनाउनुपर्ने धारणा व्यक्त गरे।
सम्मेलनमा पाण्डेले राष्ट्रिय व्यवसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना कार्यान्वयनपछि सुरक्षित र स्वस्थ कार्यस्थलको अवधारणाप्रति रोजगारदाताको चेतना बढेको जानकारी दिँदै चिया तथा अलैंची क्षेत्रका लागि विशेष निर्देशिका निर्माणको काम सुरु भएको बताए।
महासंघले केही उद्योगमा ‘केयर मोडल’ पाइलट परियोजना सफलतापूर्वक सञ्चालन गरिरहेको उल्लेख गर्दै यसले विशेषगरी महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जलवायु परिवर्तन, बाढीपहिरो तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण नेपालजस्ता अर्थतन्त्र प्रभावित भइरहेका बेला रोजगारी संरक्षण, व्यवसायको निरन्तरता र सामाजिक संवाद सुदृढीकरणमा रोजगारदाताको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।
उपाध्यक्ष पाण्डेले उद्यम उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास तथा नवप्रवर्तन प्रवद्र्धनका लागि आईएलओसँग दीर्घकालीन प्राविधिक सहयोगको समेत आग्रह गरेका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
उद्योग वाणिज्य महासंघ