मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देख्दा लज्जित छु : आङ्देम्बे

onlinekhabar.com · Wed Jun 10 10:40:50 GMT 2026

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्ष केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाए ।

उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन । संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनु पर्दछ । हामी सबै यहीँ चाहन्छौं । त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबै नै सरकारको साथमा नै थियौं, र छौँ । तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भीर विषयप्रति गम्भीर देखिएन ।’

उनले अगाडि थपे, ‘आजको मितिमा यो संसद्‍मा प्रश्न गर्ने क्षमताले आत्माहत्या गरिराखेको बडो कारुणिक दृष्य मैले देखिराखेको छु । सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान् । मेरो देशले कसेको सीमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैँ लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थें तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ । नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि !’

नेता आङ\देम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय