कांग्रेस नेता आङ्देम्बेले सभामुख अर्याललाई घुम्ने मेचमाथि... भनेपछि!
nagariknews.nagariknetwork.com · Wed Jun 10 11:02:16 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिकामा प्रश्न उठाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिइरहँदा सभामुख अर्याल लाचार बनेको भन्दै उनले आपत्ति जनाए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै नेता आङदेम्बेले सभामुख अर्यालले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप लगाउँदै भूमिकामाथि नै प्रश्न उठाएका हुन्। उनले संसदको गतिरोध अन्त्यका लागि सभामुखको पहल सत्तापक्षको जस्तो देखिएको टिप्पणी गरे ।
उनले भने, 'संसद्को चिरहरण भइरहँदा जसरी सभामुखको कुर्सी टुलुटुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भइरहेको अवस्थामा पुगेको मैले अनुभुती गरे । यद्यपि म व्यक्तिगतरुपमा म त्यो लाचारी उहाँमा देख्दिन ।'
नेता आङदेम्बेले सभामुखलाई भूमि शेरचनको कविता सुनाउँदै घुम्ने मेचमाथि... भनेपछि रास्वपा सांसदहरुले टेबल ठोकेर आपत्ति जनाएका थिए । उनले अगाडीको शब्द प्रयोग नगरी बिर्सिएछु भनेपनि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूले असहमति जनाए। उनीहरुको विरोधका बीच नेता आङ्देम्बेले सभामुखमार्फत् अर्याललाई प्रश्न गरे, 'धादिङको कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित मेरा अन्यन्य मित्र माननीय डीपी अर्याललाई श्रद्धेय सभामुखमार्फत् सोध्न चाहान्छु, मैले हिड्ने बाटोमा यतिधेरै काँडाहरु पनि नरोपिदिनुहोस् के थाहा भोलि त्यहीँ बाटो भएर तपाईं मलाई पनि भेट्न आउनु पर्ने हुन सक्छ।'
नेता आङ्देम्बेले बोलिरहँदा रास्वपा सांसदहरुले टेबल बजाएर विरोध जनाइरहे।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालेन शाह