नेपालले भारतीय भूमि मिचेको भनेर खोज्दै हिँड्ने रास्वपा सांसदहरू देख्दा लज्जित छु [भिडियो]
hamrakura.com · Wed Jun 10 00:00:00 GMT 2026
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको भूमि मिचेको हो कि भन्ने खोजीमा सत्तापक्षका केही सांसद लागेको देख्दा आफू लज्जित भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले कुनै पनि देशको भूमि मिचेको छैन भन्ने स्पष्ट अडान राख्नुपर्नेमा उल्टै केही सांसदहरू त्यसको विपरीत दिशामा ‘न्वारनदेखिको बल लगाएर दौडिरहेको’ टिप्पणी गरे।
उनले यस्ता गतिविधि देश र जनताले स्वीकार गर्न नसक्ने भन्दै ती सांसदहरूको व्यवहारलाई कडा शब्दमा आलोचना गरे। आङदेम्बेले यस्ता हर्कतलाई वीर भक्ति थापाको आत्माले समेत धिक्कार्ने टिप्पणी गरे।
उनका अनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको विषय विश्वले नै स्वीकार गरिसकेको छ र यही संसदले समेत त्यसलाई नक्सामार्फत अनुमोदन गरिसकेको छ।
सीमा विवादको समाधान उत्तेजना र आवेगबाट नभई संयमित कूटनीतिक संवादबाट हुनुपर्नेमा उनले जोड दिए।
आङदेम्बेले सरकार र सत्तारुढ दलको व्यवहार गम्भीर विषयप्रति जिम्मेवार नदेखिएको आरोप पनि लगाए।
उनले संसदमा प्रश्न गर्ने संस्कार कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘आज संसदमा प्रश्न गर्ने क्षमताको नै आत्महत्या भइरहेको जस्तो कारुणिक दृश्य देखिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)