व्यापार देशको शत्रु होइन
nayapatrikadaily.com · Mon May 17 21:17:00 GMT 2021
अर्थतन्त्रमा चासो राख्नेहरूको मुखबाट प्रशस्तै सुनिन्छ– व्यवसायीहरू उद्योग छोडेर व्यापारतिर लागे, त्यसले अर्थतन्त्रलाई कमजोर बनायो । नेपालमा मात्रै होइन, संसारभरि नै उद्योगलाई प्रवद्र्धन गर्ने कि व्यापारलाई भन्ने विषयमा ठूलो बहस छ । द हेरिटेज फाउन्डेसनको ‘आर्थिक स्वतन्त्रता सूचकांक’ले नागरिकले आफ्नो पैसा कसरी खर्च गर्ने वा लगानी गर्ने भन्ने स्वतन्त्रता अवरोध गर्ने मुलुकहरूको तुलनामा व्यापार र लगानीमा उदार मुलुकहरू समृद्ध भएको देखाएको छ । नेपालमा मात्रै होइन, विश्वका सबैजसो मुलुकको अर्थतन्त्रमा व्यापारको योगदान अत्यन्तै महत्वपूर्ण हुन्छ । विश्वका विभिन्न मुलुकहरूको अर्थतन्त्रको संरचना हेर्दा कतिपयमा उत्पादनमूलक क्षेत्र त कतिपयमा कृषि क्षेत्रपछि कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा व्यापारको नै हुन्छ । हङकङको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा थोक तथा खुद्रा व्यापारको योगदान १९.५ प्रतिशत छ, जुन वित्त तथा बिमापछिको दोस्रो ठूलो हो । सिंगापुरको अर्थतन्त्रमा यसको हिस्सा १७.६ प्रतिशत छ । हाम्रो जिडिपीमा पनि थोक तथा खुद्रा व्यापारले १४.९२ प्रतिशत हिस्सा ओगटेको छ, जुन कृषिपछि सबैभन्दा धेरै हो ।
जिडिपीमा मात्रै होइन, व्यापारले रोजगारी सिर्जनामा पनि सबभन्दा महत्वपूर्ण योगदान गरेको छ । मुलुकमा रोजगारी सिर्जनाका दृष्टिले व्यापार दोस्रो ठूलो क्षेत्र हो । कृषि क्षेत्रले २० प्रतिशत रोजगारी सिर्जना गरिरहँदा व्यापारले त्यसको केही कम मात्रै अर्थात् साढे १७ प्रतिशत रोजगारी सिर्जना गरेको नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्यांक छ । व्यापारिक गतिविधिमा मात्रै १२ लाख ४० हजार रोजगारी सिर्जना भएको छ । तेस्रोमा रहेको उद्योग क्षेत्रले कुल रोजगारीमा १५ प्रतिशत मात्रै रोजगारी सिर्जना गरेको छ । विश्वभरि नै उत्पादनमूलक गतिविधिमा प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । उद्योगहरू अटोमेसन अर्थात् स्वचालनतिर जाँदै छन् । त्यसले पनि अबका दिनमा प्रशोधनमूलक उद्योगमा रोजगारीका अवसर कम हुँदै जानेछन् । किनभने, आधुनिक स्वचालित प्रविधियुक्त उद्योगबाट निकै कम रोजगारी सिर्जना हुन्छ । तर, व्यापारले विभिन्न तहमा मानिसलाई रोजगारी दिइरहेको हुन्छ । वितरक, थोक विक्रेता, खुुद्रा पसल मात्रै होइन, ढुवानीमा समेत ठूलो मात्रामा रोजगारी सिर्जना भइरहेको हुन्छ । खासगरी, सानोतिनो व्यापार गरी स्वरोजगार बन्ने जमात लाखौँको संख्यामा छन्, उनीहरू वास्तवमा मुलुकको अर्थतन्त्रका धमनी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)