मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु परिवर्तन खतराको घण्टी

annapurnapost.com · Wed Mar 09 05:49:00 GMT 2022

जलवायु परिवर्तन समकालीन विश्वको सबैभन्दा गम्भीर मुद्दा हो। अस्वाभाविक रूपमा पृथ्वी तात्दा पानीका मूलहरू सुकेका छन्। पानी नपर्ने, हिउँ पर्ने ठाउँमा हिउँ होइन, अचेल पानी पर्न थालेको छ। स्याउ फलाउन अझै उँभोउँभो लाग्नुपर्ने भएको छ। हिमालमा पनि हिउँ घटिरहेको छ। कतै पानी पर्नै छाडेर खडेरी लाग्न थालेको छ। कतै बेमौसममा धेरै पानी परेर बाढीपहिरो चलेको छ। यो सब किन भइरहेको छ भने पृथ्वीको जलवायुमा परिवर्तन आएको छ। अनि पृथ्वीको तापक्रम वृद्धि भएको छ। त्यसको एउटै कारण कार्बन उत्सर्जनको वृद्धि हो। कार्बन उत्सर्जन गर्ने भनेका उद्योग, कलकारखाना र यातायातका साधन हुन्। जसको इन्जिनलाई चाहिने इन्धन र ऊर्जाको स्रोत कोइला हो र जीवाश्म इन्धन हो।

साढे दुई सय वर्षअघि पृथ्वीको जनसंख्या एक अर्ब पनि थिएन। अहिले ७ अर्ब छ। झन्डै सय वर्षअघि इन्धन बालेर निस्किएको कार्बन बर्सेनि एक अर्ब टन हुन्थ्यो भने अहिले वर्षको १० अर्ब टनभन्दा बेसी छ। कोइला र अन्य जीवाश्म इन्धनले पृथ्वी ध्वस्त पार्दैछ भन्ने यो तथ्यांकले देखाउँछ। जीवाश्म इन्धनको उत्सर्जन नरोकिए पृथ्वीका कुनाकन्दरा सबैतिर ५० डिग्री माथि तापक्रम पुग्नेछ भनेर विज्ञहरूले चेतावनी दिइसकेका छन्। अहिले नै तापमान वृद्धि र जलवायु परिवर्तनको असर जताततै देखिएको छ। यसले खतराको घण्टी बजाइसकेको छ। अहिले जलवायु परिवर्तनको सबैभन्दा बढी नकारात्मक प्रभाव सीमान्तकृत बस्ती र समुदायमा बढी छ। प्राकृतिक प्रकोप पनि जीवैपिच्छे र मानिसमा पनि समुदायपिच्छे फरक हुन्छ। शक्ति हुने र संघर्ष गर्न सक्ने नै बाँच्ने डार्विनवादी सिद्धान्तलाई मान्दा नै सरल भाषामा बुझिन्छ कि यस्ता विपत्तिको असर निर्धा र निमुखालाई पर्ने हो। तसर्थ जलवायु परिवर्तनको असर लैंगिक र भौगोलिक हिसाबमा फरकफरक छ। लैंगिक हिसाबमा महिलामाथि बढी कहर थोपरेको छ जलवायु परिवर्तनले। जलवायु परिवर्तनको प्रभाव महिलामा फरक हुन्छ भन्ने अनुसन्धानहरूले नै देखाइसकेको तथ्य नै हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)