मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलमानले भने-दरबार हत्याकाण्डसँगै मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस्

nepalpress.com · Wed Jun 10 12:39:59 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभई मदन भण्डारीदेखि सुशील कोइरालासम्मको मृत्युको छानबिन गर्न माग गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घटना शङ्कास्पद भएकाले छानबिन हुनुपर्ने बताए ।

उनले भने ‘हिजो मात्रै गृहमन्त्रीले राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ । त्यसको हामी स्वागत गर्छौँ । यो छानबिन एकदमै सजिलो हिसाबले यहाँका केही मान्छेहरूलाई राखेर अझ त्यसलाई छुट दिने हिसाबले छानबिन गरियो भने यसको कुनै अर्थ छैन ।’

दरबार हत्याकाण्डमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको पनि भूमिका रहेको भन्दै अन्तर्राष्ट्रिय विज्ञलाई पनि राखेर छानबिन गर्नुपर्ने बताए ।

उनले थपे, ‘यो दरबार हत्याकाण्ड मात्रै ? मदन भण्डारी हत्याको पनि छानबिन होस् किन नगर्ने ? पटक पटक राष्ट्रपति भएको छ, पटक पटक प्रधानमन्त्री भएको छ। त्यही पार्टीको किन अहिलेसम्म छानबिन हुँदैन ? त्यो हत्या भनेर पटक पटक भनेको छ त्यसको सही उत्तर किन आउँदैन ? त्यो पनि छानबिन होस् । त्यस्तै गरेर सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको हो, उहाँको पनि छानबिन होस्।’

उनले राजनीतिक व्यक्तित्वको मात्रै नभई निर्मला हत्याकाण्ड, टिकापुर विद्रोहलगायतको घटनाको पनि छानबिन गर्न माग गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)