स्वकीय सचिवका नामको बेथिति !
annapurnapost.com · Tue Jun 21 00:05:00 GMT 2022
प्रदेश १ का सांसद बिन्दिया कार्कीले राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारी (नासु)सरह सेवासुविधा पाउनेगरी छोरा रोबिन भनिने रविनसिंह कार्कीलाई स्वकीय सचिवमा नियुक्त गरेकी थिइन्। आमा सांसद भएको फाइदा उठाउँदै स्वकीय सचिव बनेका रोबिन सवारी ज्यान मुद्दामा जेल चलान भए। उनलाई मापसे गरी सवारी चलाएको ठहरसहित ६ महिना १५ दिनको जेल सजाय र दुई हजार जरिवाना भयो। प्रहरी हिरासतमै रहेर उनले स्वकीय सचिवले पाउने सरकारी सेवासुविधा (तलबभत्ता) बुझेका छन्। प्रदेशसभा सचिवालयले कार्कीलाई नियमित तलब भत्ता भुक्तानी गरेको छ।
सांसद कार्कीका स्वकीय सचिव छोराले जेलजीवन बिताउँदा पनि तलब भत्ता कसरी बुझ्न सक्छन् ? प्रदेशसभा सचिवालयले किन जघन्य अपराधको प्रतिवादीलाई नियमित रूपमा तलबभत्ता दिएको होला ? यी प्रश्नको एउटै जवाफ हो, स्वकीय सचिवको तलबभत्ता सबै सांसद आफैंले बुझ्छन्। बुझिरहेका छन्। जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नातेदार (पति, पत्नी, छोरा, छोरी, भतिजा, भतिजी वा आफन्त)लाई स्वकीय सचिव नियुक्त गर्ने प्रवृत्ति झांगिन थालेको छ। उनीहरूको तलबभत्ता आफैंले बुझ्ने रोग संघीय, प्रदेश हुँदै अहिले स्थानीय तहसम्मै पुगेको छ। संघीय संसद् सचिवालय र प्रदेशसभा सचिवालयमा स्वकीय सचिव जसको नाम हुन्छ, उसैले तलबभत्ता बुझ्न पाउनुपर्ने विषयमा बहस र छलफल पनि नभएका होइनन्। नाम मात्रको नियुक्ति दिएर सबै रकम बुझ्न पल्किएका सांसद स्वकीय सचिवको खातामा तलबभत्ता पठाउन राजी भएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)