राष्ट्रसङ्घीय सुरक्षा पोस्टमा नेपाली महिला
gorkhapatraonline.com · Thu Oct 29 00:28:52 GMT 2026

संयुक्त राष्ट्रसङ्घको विश्वकै अग्लो स्थायी रूपमा सञ्चालनमा रहेको सुरक्षा पोस्ट ‘हर्मोन होटेल’ को सुरक्षा जिम्मेवारी पहिलो पटक पूर्ण रूपमा नेपाली महिला शान्ति सैनिकले समालेका छन् ।
सन् २०२६ अक्टोबरको पहिलो साता नेपालका १३ जना महिला शान्ति सैनिकको टोलीले संयुक्त राष्ट्रसङ्घीय युद्धविराम पर्यवेक्षण बल (अनडफ) अन्तर्गत सिरियाको माउन्ट हर्मोनमा रहेको उक्त पोस्टको जिम्मेवारी औपचारिक रूपमा समालेका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त सुरक्षा पोस्ट समुद्री सतहबाट दुई हजार ८१४ मिटरको उचाइमा रहेको छ । जसमा पहिलो पटक पूर्ण महिला टोली परिचालन गरिएको छ । त्यहाँ खटिएको शान्ति सैनिक टोलीले निरन्तर निगरानी गर्ने, घटनाको पहिचान तथा प्रमाणीकरण गर्ने, प्रतिवेदन तयार पार्ने र गस्ती टोलीलाई सहयोग गर्नेलगायत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको जनाइएको छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थामा पनि टोलीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा गरिएको छ । टोलीकी कमान्डर नेपाली सेनाका सहसेनानी (क्याप्टेन) सङ्गीता श्रेष्ठले यस अवसरलाई विश्वसामु महिला शान्ति सैनिकको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । “महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएकामा म अत्यन्तै आभारी छु,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)