सराय नाचको महिमा
gorkhapatraonline.com · Thu Oct 29 00:59:08 GMT 2026

पश्चिम नेपालमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सराय नाच कोजाग्रत पूर्णिमाको अवसरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर तथा देवीका शक्तिपीठमा विशेष पूजाआजा र पूर्णिमा मेला आयोजना गरी यस वर्षको सराय नाच सम्पन्न गरिएको हो ।
दसैँको टीकाको भोलिपल्टदेखि सुरु हुने सराय नाच कोजाग्रत पूर्णिमासम्म सञ्चालन गर्ने परम्परा छ । अर्घाखाँचीसहित गुल्मी, पाल्पालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा प्रचलित यो नाच धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिसँग जोडिएको छ । खुँडा, भाला, तरबारलगायत परम्परागत हतियार प्रदर्शन गर्दै युद्धकला झल्किने गरी नाचिने सरायले दसैँको रौनकलाई पूर्णिमासम्म कायम राख्ने गरेको छ । यस वर्ष अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा आयोजित पूर्णिमा मेलाको अन्तिम दिन हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा सराय नाच प्रदर्शन गरिएको थियो । अर्घा र भण्डारथुममा लाग्ने पूर्णिमा मेला तथा सराय नाच जिल्लाकै प्रमुख धार्मिक र सांस्कृतिक आकर्षणका रूपमा परिचित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)