पीएल सिंह स्मृति महानगर कप क्रिकेट र ब्याडमिन्टन हुने
gorkhapatraonline.com · Wed Jun 10 14:08:00 GMT 2026

काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ४ देखि १३ गतेसम्म पीएल सिंह स्मृति महानगर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बागमती क्रिकेट सङ्घको ब्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले पहिलो पटक अन्तरमहानगरपालिका क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा काठमाडौँ, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरपालिकाको सहभागिता रहने छ । प्रतियोगितामा सोही महानगरपालिकाको सात जना र जिल्लाबाट आठ जना खेलाडी टोलीमा समावेश गर्न सक्ने छ ।
नयाँ खेलाडी उत्पादन गर्न र नेपाली क्रिकेटको ग्रासरुट विकासका लागि प्रतियोगिता फलदायी हुने बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बताउनुभयो ।
उहाँले यस प्रतियोगिताको पुरस्कार राशी घरेलु प्रतियोगिताकै सर्वाधिक धेरै भएको र फाइनल खेल त्रिवि क्रिमेट मैदानमा फर्ड लाइटमा खेलाइने जानकारी पनि दिनुभयो ।
यस्तै काठमाडौँ महानगरपालिका सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस प्रतियोगिताबाट कम्तिमा दुई चारजना नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि यस प्रतियोगितालाई थप बृहत बनाउने पनि जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै ब्यक्तिगत विधाका उत्कृष्टलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा असार १२ देखि १४ गतेसम्म काठमाडौँ महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ३२ वटै वडाका दुई दुई जना पुरुष र महिला खेलाडीको सहभागिता रहनेछ । सहभागी खेलाडीले पुरुष र महिला एकल तथा मिश्रित युगल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।
स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्ने र ब्याडमिन्टनको माहोल बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले बताउनुभयो । प्रतियोगिताका खेलहरु डल्लुस्थित एनओसी भूकम्प स्मृति कभर्ड हलमा हुनेछ ।
प्रतियोगितामा पुरुष र महिला एकलमा विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: ३२, २० र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै मिश्रित युगलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ४०, ३० र १६ हजार रुपियाँ पुरस्कार हात पार्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)