मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बुटवल “पूर्ण खोप दिगोपना सुनिश्चितता” पालिका

gorkhapatraonline.com · Wed Jun 10 14:09:35 GMT 2026

बुटवल उपमहानगरपालिका “पूर्ण खोप दिगोपना सुनिश्चित्ता” घोषणा भएको छ । नगरभित्रका १५ महिनामुनिका एक हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका चार हजार ५१३ गरी जम्मा ६ हजार २८० बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप सुनिश्चित्ता पालिका घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमकविच जिल्ला समन्वय समिति प्रमुख समेत रहेका जिल्ला खोप समन्वय समिति प्रमुख उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रतिनिधिसहितको सहभागितामा बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित्ता घोषणा गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले सबै सरोकारवालाको निरन्तरताको मिहिनेतपछि बुटवल उपमहानगरपालिका “पूर्ण खोप दिगोपना सुनिश्चित्ता” घोषणा गर्न सफल भएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, स्वास्थ्य कार्यालय नवलपरासी बरिष्ठ जनस्वास्थ्य अधिकृत भेषराज शर्मा, स्वास्थ्य कार्यालय रूपन्देही फोकलपर्सन डिलाराम भुसाल, कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेशकुमार थापा, सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्चाल बुटवल उपमहानगरपालिका संयोजक माया गौतम, बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेय लगायतले पूर्णखोप सुनिश्चित्ताको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो ।

बुटवल उपमहानगर स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले नगरभित्रका १५ महिना मुनिका १ हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका ४ हजार ५१३ गरी जम्मा ६ हजार २८० बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप सुनिश्चित्ता पालिका घोषणा गरिएको जानकारी दिनुभयो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका १ देखि १९ वटै वडालाई पूर्णखोप सुनिश्चित्ता वडाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)