त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दुई धार
ekantipur.com · Wed Feb 21 17:20:44 GMT 2024
काठमाडौँ — सत्तारूढ माओवादी केन्द्रभित्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनमा दुई धार देखिँदा नियुक्तिमा ढिलाइ भएको छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र माओवादी केन्द्रका दोस्रो तहका केही नेताले त्रिवि शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीलाई नियुक्त गर्न चाहेकाले नियुक्तिमा ढिलाइ भएको स्रोतले जनाएको छ ।
मेरिटअनुसार क्रमशः बुढाथोकी, बराल र गणित विभागका पूर्वप्रमुख टंकनाथ धमलाको नाम छनोट तथा सिफारिस समितिले सिफारिस गरेको छ । बुढाथोकी र बराल माओवादीनिकट हुन भने धमला एमालेनिकट मानिए पनि उनी स्वतन्त्र रहेको दाबी गर्छन् । माओवादी कोटाबाटै नियुक्त गर्न खोजिएकाले सत्ता गठबन्धनमा त्रिवि उपकुलपति उसको भागमा परेको र छनोट प्रक्रिया शंकास्पद रहेको आशंका शिक्षाविद्हरूले गर्दै आएका छन् । प्राध्यापकलगायत सरोकारवालाहरूले उपकुलपति छनोट र सिफारिससम्बन्धी प्रक्रियाका विषयमा प्रश्न उठाइराख्दा सिफारिस समितिले पहिलो नम्बरमा पार्न बुढाथोकीलाई अस्वाभाविक रूपमा सबैभन्दा बढी अंक दिएको आरोपसमेत लागेको छ । स्रोतका अनुसार २० पूर्णाङ्कको प्रस्तुतीकरणमा उनले १८ (८५ प्रतिशत) नम्बर पाएका छन् । व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्रको मूल्यांकनमा उनीभन्दा बढी अंक पाएका केही प्रतिस्पर्धीलाई भने ७ अंक (३५ प्रतिशत) मात्र दिएर बुढाथोकीलाई ३ जनामध्ये उत्कृष्टमा पारिएको स्रोतले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)