नातिनातिनासँगै परीक्षा तयारी
ekantipur.com · Fri Mar 03 01:12:28 GMT 2023
गोरखा — शिक्षकलाई गृहकार्य देखाएर स्याबासी पाएसँगै ६० वर्षीया आसमाया गुरुङ फुरुङ्ग बनिन् । ७ वर्षकी ललिता तामाङ र ११ वर्षीय सविन गुरुङको गृहकार्य ‘चेक’ गरेपछि शिक्षक सुनिता थापा बिहीबार ४९ वर्षीया विष्णुमाया गुरुङसमक्ष पुगिन् । गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविको कक्षा २ मा पढ्ने आसमाया र विष्णुमाया सकेसम्म गृहकार्य छुटाउँदैनन् । उमेरले नातिनातिना उनीहरूका सहपाठी बनेका छन् ।
२०७८ मंसिरमा विद्यालय भर्ना भएका आमाहरू सकेसम्म कक्षा छुटाउँदैनन् । ‘कसैको विवाह र छेवर परे निम्तो मान्न जाँदा कक्षा छुट्छ, नत्र पढ्न आउन छोड्दैनौं,’ आसमाया भन्छिन् । कक्षा १ बाट २ मा पुग्दा विष्णुमाया दोस्रो बनिन् । दुवै आमाहरू चैत ६ बाट हुने वार्षिक परीक्षाको तयारीमा छन् । उनीहरू बिहानको घरधन्दा सकेर कापीकिताब च्यापी ९ः३० बजे विद्यालय पुग्छन् । विद्यालयले उनीहरूलाई पोसाकमा छुट दिएको छ । आफूलाई सजिलो लाग्ने पोसाकमै विद्यालय जान्छन् । प्रार्थनाको समयमा पनि उनीहरूलाई लाइनबद्ध हुनैपर्ने अनिवार्य छैन । आसमाया भन्छिन्, ‘राष्ट्रिय गान बज्दा भने उभिन्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)