बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदीका गरगहना चोरीको 'नाटक'
baahrakhari.com · Wed Jun 10 16:35:37 GMT 2026

बुटवल । बुटवलको अमरपथस्थित एक सुनचाँदी पसलमा भएको करोडौँ रुपैयाँबराबरको चोरी घटनामा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।
उक्त चोरी प्रकरणको अनुसन्धानबाट पसल सञ्चालक दीपक विक र कर्मचारी नवीन विकको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले घटनाबारे जानकारी दिँदै बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित सुनचाँदी पसलमा गएको जेठ १७ गते मध्यरातपछि चोरी भएको अनुमान गरिएको बताए ।
उनका अनुसार, पसल सञ्चालक बुटवल–३ पुल्चोक निवासी ४१ वर्षीय दीपक पोखरा गएको समयमा पसलबाट करिब एक करोड ४६ लाख ९४ हजार ७०० रुपैयाँबराबरका सुनचाँदीका गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा चोरीको योजनामा पसल सञ्चालक दीपक र त्यहीँ कार्यरत कर्मचारी नवीनको संलग्नता रहेको निष्कर्षमा पुगेको एसपी शाहीले बताए ।
प्रहरीका अनुसार, घटनाको मुख्य उद्देश्य बिमा रकम दाबी गर्नु रहेको देखिएको छ । साथै, पसलमा विभिन्न व्यक्तिले धितो राखेका सुन समेत हिनामिना गर्ने उद्देश्य रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एसपीले अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र विभिन्न आयामबाट गरिएको खोजबिनले दुवैजनाको संलग्नता पुष्टि भएको दाबी गरे । उनले यस प्रकरणमा हाल सार्वजनिक गरिएकोभन्दा बढी परिमाणको सुनचाँदी समेत जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको उल्लेख गर्दै थप अनुसन्धान जारी रहेको बताए ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानको क्रमसँगै सार्वजनिक गरिने जनाएको छ ।
#बुटवल
#बिमा दाबी
#सुनचाँदी पसल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)