भारतबाट निकालिएका पाकिस्तानी नेपाल प्रवेशको जोखिम, सीमामा परिचयपत्र हेरिन थालियो
canadanepal.com · Fri May 02 02:59:31 GMT 2025
काठमाडौं– जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमलाका कारण २६ जना पर्यटक मारिएपछि बढेको भारत–पाकिस्तान तनावको परोक्ष प्रभावमा नेपाल पनि तानिएको छ।
भारत र पाकिस्तान एक अर्काले आफ्ना भूमीमा रहेका सम्बन्धित मुलुकका नागरिकलाई देश छाड्न अल्टिमेटम दिएपछि नेपाली सीमा क्षेत्र हुँदै छिर्ने पाकिस्तानीमाथि निगरानी बलियो राखिएको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कडाई गरेको छ भने यता सशस्त्र प्रहरी बल नेपाल पनि सक्रिय भएको बताइएको छ।
जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएपछि भारत र पाकिस्तान युद्धको संघारमा छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाका क्षेत्रमा संयुक्त गस्ती थालेका हुन् भने दुवै सुरक्षा निकायले निगरानी पनि बढाएका हुन् ।
अनधिकृत गतिविधि र व्यक्तिको घुसपैठ रोक्न सीमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
भारत र पाकिस्तानबिच तनाव बढेका वेला भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग इन्चार्ज विजय चौथाइवाले नेपाल भ्रमणमा छन्। उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर सीमा सुरक्षामा चासो दिएका थिए। भेटघाटपश्चात् सीमावर्ती क्षेत्रमा थप कडाइ गरिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
नेपाल–भारतबिच सीमा जोडिएका जिल्ला २७ छन्। २६ वटा त तराई क्षेत्रमा नै पर्छन्।
भारतसँग १७ सय ५१ किलोमिटर सीमा दूरी जोडिएको छ । तर, विशेष गरी तराईका झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकी नाकामा गस्ती बढाइएको छ।
मधेश प्रदेशमा प्रहरीले थप सतर्कता अपनाएको छ। सप्तरीको गोबरगाढादेखि पश्चिममा पर्साको ठोरीसम्म ४६४ किलोमिटर मधेश प्रदेशको सीमा भारतको विहार राज्यसँग जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)