स्थानीय निर्वाचन : सावधान पैसाको खोलो बग्न सक्छ !
rajdhanidaily.com · Thu Mar 24 23:42:28 GMT 2022
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगमी बढिरहेको छ । वैशाख ३० गतेको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा कोसेढुंगा सावित हुनेछ । संघीय शासन व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन दोस्रोपटक हुन गइरहेको छ । त्यसैले पनि यो निर्वाचनको विशेष महत्व छ । हिजोको दिनमा स्थानीय तह र त्यहाँका जनप्रतिनिधिले जेजस्ता काम गरे पनि उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा निर्वाह गरेको भूमिकालाई सकारात्मक रूपमा नै लिनुपर्छ । यद्यपि, हिजोका दिनमा धेरै स्थानीय तहमा अनेक खालका विकृति देखापरेका थिए र अहिले पनि ती विकृति यथावत् छन् । आगामी दिनमा त्यस प्रकारका विकृति देखा नपर्ने गरी जनस्तरबाटै सजगता अपनाउन जरुरी छ ।
संघीय शासनको मूल मर्म भनेकै जनताको घरदैलोको सेवा हो । यसरी घरदैलोबाट सेवा दिने दायित्व स्थानीय तहकै हो । त्यसैले स्थानीय तहमा आफ्ना प्रतिनिधि छनोट गर्दा गम्भीर रूपमा सोचविचार गरेर मात्रै छान्नु पर्छ । हाम्रो निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो हुँदै गइरहेको छ । स्थानीय तहमा निर्वाचन जित्न करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था देखिन्छ । जबसम्म चुनाव जित्न त्यति धेरै खर्च हुन्छ तबसम्म राजनीतिमा विभिन्न खाले आर्थिक अपराधका घटना घटिरहन्छन् । करोड बढी खर्च गरेर निर्वाचन जितेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि उनीहरूको ध्याउन्न नै कसरी हुन्छ पैसा कमाउने र निर्वाचनमा भएको खर्च उठानेमा केन्द्रित हुन्छ । त्यस्तो हुँदा विकास प्रक्रिया अवरुद्ध हुन सक्छ । त्यसैले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । यसका लागि दलले स्थानीय स्तरमा रहेका इमानदार व्यक्ति छनोट गर्नुपर्छ । जसले अत्याधिक पैसा खर्च गर्छ उसलाई कुनै पनि हालतमा भोट दिनुहँुदैन । निर्वाचनमा उठ्ने ठेकेदारदेखि आमजनता सजग र सर्तक हुनुपर्छ । जुनसुकै पार्टीबाट उठेको भए पनि ठेकेदारलाई भोट हाल्नुहँुदैन । राजनीतिक दलले पनि गाउँघरमा नै बसेर सादा जीवन बिताउदै आएको र हरपल जनताको सुखदुःखमा साथ दिँदै आएका व्यक्तिलाई पालिकाको मेयर र अध्यक्षका लागि टिकट दिनुपर्छ । इमानदार व्यक्तिले निर्वाचन जित्ने वातावरण सिर्जना गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)