मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा पाएको ‘धोका’ ले माओवादीभित्र तरंग

ekantipur.com · Sat Jan 27 00:49:01 GMT 2024

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएपछि माओवादीमा तरंग आएको छ । सशस्त्र युद्धका क्रममा एक हात गुमाएकी ओलखढुंगाकी चम्पा कार्कीलाई माओवादीले गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो । उनले जित्नेमा माओवादी करिब ढुक्क थियो । बरु कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई कांग्रेसकै शेखर कोइराला समूहबाट असहयोग हुन सक्ने अनुमान गरेको थियो । तर परिणाम त्यस्तो आएन । सिटौलाले जिते, कार्की हारिन् ।

कांग्रेस कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘शेखर कोइराला पक्षको असहयोगका कारण’ माओवादी उम्मेदवार कार्की पराजित भएको निकट नेताहरूसँग टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै कारण कोशी राष्ट्रिय सभामा माओवादीले एक सिट गुमाएको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् । ‘माओवादी सातै प्रदेशमा इमानदारीका साथ लागेकाले गठबन्धनका सबै उम्मेदवार जिते तर कोशीमा माओवादी उम्मेदवारले मात्रै हार्नुको पछाडि कांग्रेस नै मुख्य कारण हो,’ दाहालले निकट नेतासँग भनेका छन्, ‘यसबारेमा गठबन्धन बैठकमा समीक्षा हुनेछ ।’ राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्न गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)