‘इरानले अमेरिकालाई उचित जवाफ दिनेछ’
ratopati.com
एजेन्सी । इरानले फेरि एकपटक अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले सो चेतावनी दिएका हुन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति रुहानीले भने– ‘इरानले अमेरिकाको दादागिरीलाई उचित जवाफ दिनेछ ।’ राष्ट्रपति रुहानीले आफ्नो देशमा राष्ट्रसंघमार्फत प्रतिबन्ध लगाउने अमेरिकी योजना असफल भएको समेत दाबी गरेका छन् । उनले अमेरिकाको यो एकतर्फी फैसलालाई युरोपेली सहयोगी मुलुकहरुले समेत कानुनी रुपमा अवैधानिक ठहर गरिसकेको बताए । रुहानीले सम्बोधनका क्रममा भने– ‘इरानमाथि प्रतिबन्ध लगाउने योजनामा अमेरिकाको हार निश्चित हुँदै गएको छ । उ पराजित हुँदै गएको छ र यो सवालमा अन्तर्राष्ट्रिय जगतबाट अमेरिकाविरुद्ध नकरात्मक प्रतिक्रियाहरु प्राप्त भैरहेका छन् ।’
उता, ट्रम्प प्रशासनले भने इरानमाथि फेरि प्रतिबन्ध लगाउने निर्णय उसको आणविक सम्झौताको शर्तमा मात्र भएको प्रस्ट पार्दै आएको छ । अमेरिका उक्त सम्झौताबाट अलग भैसकेको थियो । तर बेलायत, फ्रान्स र जर्मनीको दबाब उसले झेल्नुपर्यो । बेलायत, फ्रान्स र जर्मनीले अमेरिकालाई त्यसो गर्ने (तत्काल अलग हुने) अधिकार नभएको दाबी गरेका थिए । यी ३ देशसहित चीन, रुस र अमेरिका सन् २०१५ को ऐतिहासिक सम्झौतामा सहभागी भएका थिए, जुन सम्झौतामार्फत इरानले आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाको कार्यकालमा भएको उक्त सम्झौताको चर्को आलोचना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)