मन टुक्रेको बेला दल टुक्राउने अध्यादेश
mysansar.com · Mon Apr 20 17:45:15 UTC 2020
अहिले नेपालमात्र हैन पूरा विश्व नै कोरोना भाइरससित जुधिरहेको छ। सबै देशका सरकारका प्राथमिकता कसरी कोरोना भाइरससित जुध्ने र यसले पारेका आर्थिक, सामाजिक क्षतिलाई कसरी न्युन गर्ने भन्नेमा दिमाग खियाइरहेका छन्। कसरी यसको कुप्रभावबाट उद्योग, किसान र मजदूरलाई बचाउने भन्ने योजना बनाइरहेका छन्। तर नेपालमा त्यस्तो केही तयारी छैन। म्याद राख्दै, थप्दै किस्ता किस्तामा घोषणा गरिएको लकडाउनले अलपत्र परेपछि निमुखाहरु घर जान पैदलै हिँडेर सास्ती खेपिरहेका छन्। ती निमुखा जनताको मन दुखेको छ, तर एक शब्द विरोध गरेनन्। तर उनीहरुको पीडालाई मिडियामा ल्यायो भनेर प्रधानमन्त्री बालुवाटारको आरामदायी कुर्सीमा बसेर कुर्लिए। सिडिओ र प्रहरीलाई थाहा नदिई बिहान ५ बजेर २२ मिनेटमा फोटो र भिडियो अपलोड गरेको भनेर मिडियाको दोहोलो काढे। जनताले पाएको दुःख भन्दा पनि मिडिया कसरी पुगेर भिडियो खिच्यो त्यो रहस्यपूर्ण लाग्यो प्रधानमन्त्रीलाई। देशवासीको मन दुखेको र टुक्रेको बेला ओली सरकारले अर्को नौटंकी गर्यो आज- दल टुक्राउन सजिलो हुने अध्यादेश ल्याएर।
यो दल फुटाउने सत्ताको राजनीति गर्ने बेला होइन भनेर सबैलाई थाहा छ। तर प्रधानमन्त्री ओलीले यही अवसर छोपे आफ्नो पावर देखाउने। जग्गा बाँड्न सुकुम्बासी आयोग बनाउनेदेखि लिएर आफूलाई सहज हुने गरी संवैधानिक परिषद्को ऐन संशोधन गर्ने र दल फुटाउन सहज हुनेसम्मका अध्यादेश ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)