शैलुङको दोस्रो ठेक्का पनि रद्द
ekantipur.com · Tue Nov 24 18:13:22 UTC 2020
काठमाडौँ — कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज प्रालिसँग गरेको युरिया मलको दोस्रो ठेक्का सम्झौता पनि रद्द गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार शैलुङसँग ३० हजार टन युरिया मल आयात गर्न कात्तिक २४ गतेसम्मको सम्झौता भएको थियो । उक्त अवधिमा मल ल्याउन नसकेपछि सम्झौता रद्द गरिएको हो ।
‘मल आयात गर्नकै लागि असार १८ गते दोस्रो ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार कात्तिक २४ गतेभित्र ३० हजार टन आयात गर्नुपथ्र्यो,’ प्रबन्ध सञ्चालक भण्डारीले भने, ‘दोस्रो ठेक्का रद्द गरेर जमानत जफतको प्रक्रियामा छ ।’ यसअघि कृषिले गत भदौमा पनि शैलुङको सम्झौता रद्द गरेको थियो । भदौ २० गतेसम्म आयात गरिसक्नुगर्ने मल ल्याउन नसकेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरिएको थियो । शैलुङसँगै होनिको मल्टिपल प्रालिको पनि ठेक्का रद्द गरिएको थियो । कृषि सामग्रीले ०७६/७७ मा शैलुङ इन्टरप्राइजेज र होनिकोसँग २५/२५ हजार टन मल आयात गर्न सम्झौता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)