मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्र आरोपमुक्त

gorkhapatraonline.com · Thu Sep 01 00:08:54 GMT 2022

काठमाडौँ, भदौ १६ गते । ७६ वर्षअघि अर्थात् २००३ सालको एसएलसी परीक्षा सर्नुका बारेमा गोरखापत्रमाथि लगाइएको आरोप गलत प्रमाणित भएको छ। तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको थियो।

विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय)ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो। सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ। २००३ साल पुस १७ गतेको गोरखापत्रमा परीक्षा नियन्त्रकले परीक्षा सरेको जनाउ दिँदै विज्ञापन छापेको पाइएको छ। विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ। तत्कालीन परीक्षा नियन्त्रण कार्यालयले जुद्ध पब्लिक स्कुलका विद्यार्थी परीक्षा केन्द्र कायम गरिएको वीरगञ्ज केन्द्रमा समयमा पुग्न नसक्दा परीक्षा सार्नु परेको जनाउ दिएको थियो भने स्कुलले शिक्षा डाइरेक्टरलाई पत्र लेखी आफ्ना विद्यार्थी समयमै पुगेको तर्क गर्दै पत्र लेखेको थियो। शिक्षाका इतिहासकार स्वर्गीय गोपीनाथ शर्माले पनि २००३ सालमै एसएलसी परीक्षामा सम्मिलित भएको र शिक्षा डाइरेक्टरका छोरा बिरामी भएकाले परीक्षा सारिएको कुरा आफ्नो पुस्तकमा लेख्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)