भ्रष्टाचारले थिलथिलो देश
annapurnapost.com · Thu Feb 02 01:00:00 GMT 2023
सरकारमा सामेल दलहरूको न्यूनतम साझा कार्यक्रममा प्राथमिकता दिइएको विषय हो– ‘लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा। ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने’ त्यो कार्यक्रममा छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले भर्खरै सार्वजनिक गरेको सूचकांकले भन्छ– नेपाल संसारकै भ्रष्टमध्येको देश हो। अहिलेको मात्रै होइन, हरेक सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, भ्रष्टाचार कहिल्यै नियन्त्रण भएको छैन। सन् २०१२ देखि अहिलेसम्मको सूचकांक हेर्ने हो भने पनि नेपाल जहाँको तहीँ देखिन्छ। यस वर्ष सुधारको मात्रै एक अंक उक्लिएको छ, जुन सन्तोषजनकसम्म पनि होइन। यस्तो किन भइरहेको छ भने सरकार प्रमुखहरू भ्रष्टाचारको नियन्त्रण मुखले गर्छन्, व्यवहारले गर्दैनन्।
भ्रष्टाचार भनेर आर्थिक लेनदेन, घुस र रिसवतलाई मात्रै बुझिनु हुँदैन। थिति नबस्नु र कानुनअनुसार काम नहुनु, दोषीलाई कारबाहीको सट्टा पुरस्कृत गर्नेजस्ता भ्रष्टाचार अति नै छन्, त्यही जालोभित्र आर्थिक लेनदेनको ठूलो भ्रष्टाचार हुँदै आएको छ। राजनीतिक नेतृत्वमा नैतिकता र इमान्दारीको चरम अभाव नै भ्रष्टाचारको प्रमुख कारण हो भन्ने सुशासनविद्हरूको भनाइमा दुईमत छैन। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। राष्ट्रिय सतर्कता केन्द्र छ। राजस्व अनुसन्धान विभाग छ। न्यायालय छँदैछ। तर, सबै संस्थाहरूलाई गिजोल्ने, तन्नम बनाउने र भ्रष्टाचारलाई मलजल गर्ने एउटा तŒव राजनीति हो। सबै संस्थाहरूलाई घृणित राजनीतिमार्फत उल्टै भ्रष्ट बनाइदिन उद्यत् रहँदै आएको छ, हाम्रो राजनीति र यसको नेतृत्व।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)