अवैध युरिया मल बरामद
baahrakhari.com · Sat Aug 08 17:45:00 UTC 2020
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ बाइपासचोकबाट दुई बोलेरो पिकअप गाडीसहित रु २१ लाख चार हजार ३०० बराबरको मल बरामद गरेको हो ।
महेशपुरबाट परासीतर्फ आउँदै गरेका ना४च ८३८८ र ना५च २९२६ नंको बोलेरो पिकअप रोकी सोधपुछ गर्ने क्रममा दुवै सवारी साधनबाट गरी १४९ बोरा अवैध युरिया मल ओसारपसार गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । मलसँग सम्बन्धित कुनै पनि कागजात फेला नपरेपछि चालकसहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)