बढी भाडा लिने १९ वटा माइक्रो बसलाई कारबाही
gorkhapatraonline.com · Sat Oct 29 01:33:10 GMT 2022
तनहुँ, कात्तिक १२ गते । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ ।
बढी भाडा लिएका सवारीलाई पाँच हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका ट्राफिक प्रमुख राजीव विष्टले जानकारी दिनुभयो । सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको हो । बढी भाडा लिने सवारीमा माईक्रो बस रहेको ट्राफिकले जनाएको छ । दमौलीबाट काठमाडौँको भाडा छ सय ५० निर्धारण गरेको भए पनि आफू खुसी रु.आठ सय देखि एक हजारसम्म यात्रुसँग भाडा लिने गरेको भेटिए पछि कारबाही गरिएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)