रामसीताको स्वयंवर सकियो
nayapatrikadaily.com · Thu Dec 09 00:38:00 GMT 2021
रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर सकिएको छ । त्रेतायुगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी महोत्सव हुने गर्छ । यस वर्ष पनि महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु जनकपुर आएका छन् । कोरोना महामारीका कारण विवाह पञ्चमी महोत्सव केही प्रभावित भए पनि रामजानकीको डोला हेर्न बाह्रबिघा मैदानमा हजारौँ श्रद्धालुको घुइँचो लागेको थियो ।
बुधबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी–कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदान हुँदै बाह्रबिघा पुगेको थियो । दुवै डोला बाह्रबिघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयंवर गरिएको छ । तत्पश्चात् रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति राम–जानकीको विवाह हुने गर्छ । वैैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथका रूपमा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)