सहकारी कि स्वाहाकारी
annapurnapost.com · Tue Aug 02 00:15:00 GMT 2022
सहकारी भनेको सहकार्य गर्ने संस्था हो। सदस्यहरू मिलिजुलीको बृहत्तर हितमा लाग्ने अवधारणा हो, सहकारी। यथार्थ भने यस्तो छैन। सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने (कुम्ल्याउने ?) हो भन्ने बुझाइ छ। अझ व्यवहार पनि छ। मुलुकभर ३५ हजार हाराहारी सहकारी छन्। आधाजसो बचत तथा ऋण सहकारी छन्। त्यसैले पैसाले पैसा कमाउने व्यवसाय भनेर सहकारी चिनिएका छन्। पछिल्लो समयका घटनाक्रमले भने सहकारी ठगीको माध्यम भइरहेको देखाएका छन्। सर्वसाधारणले हाड घोटीघोटी कमाउँदै सुकासुका जम्मा गरेको पैसा ठगेर सहकारी सञ्चालकहरू दिनप्रतिदिन भाग्ने क्रम बढेको बढ्यै छ। काठमाडौं कुलेश्वरको गौतमश्री सहकारी सञ्चालक भागेको नयाँ समाचार बनेर आयो, प्रवृत्ति पुरानै हो।
सहकारी विभागमा आर्थिक वर्ष २०७८÷७९ मा सहकारीका विरुद्ध तीन सयभन्दा बढी उजुरी परेका छन्। गौतमश्रीको उजुरी त हजारजना भन्दा बढीले प्रहरीमा दिएका छन्। सात अर्ब रुपैयाँभन्दा बढी त्यो सहकारी सञ्चालक रामबहादुर गौतमले ठगी गरेको प्रारम्भिक अनुमान छ। विभागमै वर्षमा तीन सयभन्दा बढी उजुरी पर्नु आफैंमा ठूलो संख्या हो। जुन उद्देश्यले सहकारी स्थापना गरी सञ्चालन गर्नुपथ्र्याे, त्यसविपरीत हुँदा नै कतिपय नियतै खराब भएका व्यक्तिले सहकारीलाई ठगीधन्दा बनाएका छन्। त्यस्तो बदनियत भएकाहरूलाई लगाम लगाउने बलियो संयन्त्र भने छैन। देशभरका सहकारी नियमन गर्न एउटा सहकारी विभाग र ४२ जिल्ला सहकारी डिभिजन कार्यालय थिए। अहिले भने पालिकाहरूले गर्छन् (?), सहकारीको नियमन। जुन पालिकाहरूका लागि टाउको दुःखाइको विषय भएको छ। सहकारी विभाग र त्यस मातहतका कार्यालयले पनि नियमन गर्न नसकेका सहकारीको लगाम कस्न पालिकाहरूलाई भेउ नै छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)