युवा किन देश रोज्दैन ?
rajdhanidaily.com · Sun Jan 07 00:55:16 GMT 2024
रोज्न मिल्ने भए युवा मात्र होइन प्रौढले पनि आफ्नो र आफ्नो भावी पुस्ताको भविष्य निर्माणको थलोका रूपमा नेपाललाई पहिलो प्राथमिकतामा नरोज्ने स्थितिको निर्माण विगतका केही दशकमा भयो । अन्तराष्ट्रिय मानव बसाइँसराइँ न नौलो कुरा हो न त कुनै अनिष्टको संकेत नै हो । अलि उदार भएर सोच्दा यो पृथ्वी सम्पूर्ण प्राणी जगतको एउटा साझा घर हो र एक ठाउँबाट अर्को ठाउँमा मान्छे आउजाउ गर्ने, रोजी रोटी र खुसीको खोजीमा संसारका विभिन्न कुनामा बास सर्ने काम स्वभाविक हो । देशभित्रकै एक कुनाबाट देशकै अर्को कुनामा जानु, गाउँबाट सहर पस्नु र काठमाडौंबाट सिड्नी, न्युयोर्क वा लन्डन जानुमा तात्विक भिन्नता पनि छैन । यसले समग्र मानव सभ्यतालाई जातीय, भाषिक वा धार्मिक संकिर्णताबाट माथि उठ्न पनि मर्मत गर्छ । आफ्नै संस्कृति उत्कृष्ट भन्ने अभिमान पनि केही कम गर्न मद्दत नै गर्ला । त्यसो हो भने आज दिनहुँ हजारौं युवा रोजगारीका लागि वा स्थायी बसोबासकै सपना लिएर अन्तराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिन लाम लागिरहेको कुरा हामीमध्ये धेरैको चिन्ताको विषय किन बनेको छ त ? के यो चिन्ता जायज हो त ? चिन्तै लिनु नपर्ने विषयमा हामीले चिन्ता गरेका हौं त ? यो चिन्ता हालका केही वर्षमा मात्र किन तीव्र रूपमा बढेको होला जबकि लाखौं नेपाली परदेशमा रोजगारीका लागि काम गर्न लागेको दशकभन्दा बढी भइसकेको छ ? यसको आर्थिक र सामाजिक असर नेपालमा कस्तो पर्ला ? के यो नेपालको मात्र समस्या हो कि प्रायः सबै विकासोन्मुख देशहरूको समस्या हो ? के विकास नभएर यस्तो भएको हो त ? के नेपालमा शिक्षा र स्वास्थ्य निःशुल्क भए यो रोकिने छ त ? यस्तै विषयमा आज केही घोत्लिने प्रयास गरौं ।
पहिलो कुरा त देशको अस्तित्व र स्वार्थ आजको यथार्थ हो । मानिस देशमा विभाजित छन् । विकास र संवृद्धिको संवाहक देश नै हुन हालसम्मलाई । देशको स्वार्थमा नै अन्तराष्ट्रिय राजनीति, सम्बन्ध वा युद्ध पनि हुने गरेका छन् । ‘३ करोड नेपालीले देश छोडेर करोडपति हुन्छन् भने के फरक पर्छ र ? भन्ने परिस्थितिमा हामी छैनौं । विश्व नै आफ्नो घर भन्ने धारणा हाललाई केवल आदर्श हो । संसार आदर्शले होइन यथार्थले चल्छ । देशविहीनलाई जति यो आदर्शको खोक्रोपना अरू कसैलाई महसुस हुँदैन होला सायद । देशको अर्थ नहुने हो भने सबै युक्रेनीले आफूलाई रसियन माने त युद्ध बन्द भइहाल्छ नि । संसारका सबै सीमा विवाद किन हुन्थे ? आफ्ना नागरिक मारिँदा र अन्य देशको नागरिक मारिँदाको ठूलो भिन्नता मेटिने अवस्था निकै सुदूरको भविष्यमा पनि आउने होइन । यो लेखमा म देशको अस्तित्व र स्वार्थ महत्वपूर्ण हुन्छ भन्ने कुरालाई आधार मानेर तर्क प्रस्तुत गर्छु । यो मान्यतामा नै असहमत हुनेका लागि युवाको समूल बहिर्गमन कुनै पनि समस्या होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)