शैक्षिक सत्रभरि पुस्तककै रोइलो
ekantipur.com · Thu Jan 26 16:42:24 GMT 2023
जनकपुर — शैक्षिक सत्र सुरु भएको १० महिना बित्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव छँदै छ । कतिपय विद्यार्थी कबाडीबालासँग पुराना पुस्तक किनेर, साथीसँग आलोपालो गरेर अनि पाठ्यपुस्तकबिनै पढ्न र परीक्षाको तयारी गर्न बाध्य छन् । चैत दोस्रो सातादेखि अन्तिम परीक्षा हुँदै छ । तर, धनुषाका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तककै रोइलो छ ।
जनकपुर–४ स्थित संकटमोचन देवशरण रामरती उच्च माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सुरजकुमार शर्माले धेरैजसो विद्यार्थीसँग पाठ्यक्रमअनुसारको सबै किताब नरहेको बताए । ‘जेठमा नामांकन गराए । तर, भदौ–असोजमा मात्र सबै किताब पाए । अझै केही साथीसँग सबै किताब छैनन्,’ शर्माले भने । पाठ्यपुस्तक नहुँदा एसर्ईईको तयारी गर्न कठिनाइ भएको गुनासो सोही विद्यालयकी कक्षा–१० की छात्रा मिली गुप्ताको छ । ‘बुबाले किताब किनेर ल्याइदिन्छु भन्नुभयो तर बजारमा किताबै पाइएन । किताब नहुँदा होमवर्क गर्न पनि समस्या छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)