संगीतकार कामतको शोकमा मधेस सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने
farakdhar.com · Fri Aug 02 08:53:42 UTC 2024

शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका हुन् । कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा सङ्गीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवं सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गरेका दिवङ्गत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्व. कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आराधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक बनाएको उल्लेख गरेका छन् । कामतले जीवनका कठोरतम् क्षणसँग लड्दै सङ्गीत क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ ।
‘शास्त्रीय एवं सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिनुभयो । उहाँको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सङ्ख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम् ढङ्गले बुझ्न सक्षम भएका छन्,’ वक्तव्यमा भनिएको छ ।
कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा नयाँ पुस्ताका प्रतिनिधि उत्सुक भएको अवस्था रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)