एउटा स्वप्निल परियोजनाका केही सम्झना :
Ujyaaloonline.com · Fri Apr 05 23:14:03 UTC 2024

समय बित्न समय लाग्दैन भन्छन् । रेडियो मदनपोखराको कुरा गर्दा मलाई यस्तै लाग्छ । २५ वर्षअघि २०५६ साल चैतको दोस्रो साता तानसेन जाने साझा बस नयाँ पाटीमा रोकिँदा साँझ पर्न थालेको थियो । प्राविधिक काम गर्न यादव ठाकुर केही दिनपछि आउने निश्चित भएको थियो । कार्यक्रम र उद्घोषणसम्बन्धी तालिमको तयारीका लागि भारतदत्त कोइराला र हेमबहादुर विष्टले मलाई जिम्मेवारी दिनुभयो । त्यही जिम्मेवारी पूरा गर्ने दायित्व बोकेर म बिहानै काठमाण्डौबाट पाल्पा जाने गाडी चढेको थिएँ । मदनपोखरा गाउँबाट झण्डै २० मिनेट तल राजमार्गको नयाँ पाटीमा साझा बसबाट उत्रिँदा मलाई लिन मदनपोखराबाट आएका साथीभाइ पर्खिरहेका थिए ।
रेडियो शुरु हुने भएपछि गाउँमा अनौठो उत्साह थियो । मदनपोखराको पीपल चौतारामा कुराकानी र गफको विषय रेडियो हुन थालेको वर्षाैँ भइसकेको थियो । तर गाउँमै रेडियो शुरु होला र गाउँकै मान्छेले बोल्ने होला भन्नेमा चाहिँ अझै पनि धेरैको मनमा शङ्का थियो । त्यसो त मदनपोखराको चौतारामाथि गुणाकर अर्यालको घरको दक्षिण कुनामा स्टुडियो निर्माण भइसकेको थियो तर उत्तर पट्टिको कुनामा उहाँको भान्सा थियो । स्टुडियोको पछाडि उत्तर कुनामा भैँसी बाधेको थियो भने माथिल्लो तलामा अर्याल परिवारको बसोबास थियो । स्टुडियो अत्यन्त होचो थियो र भित्र पस्दा प्राय सबैले टाउको निहुराउनु पर्थ्याे । स्टुडियोमा प्रसारणका उपकरण जडान गर्ने सिँगै काम बाँकी थियो । र त्यो काम यादव ठाकुरको जिम्मामा थियो । तालिम शुरु भएको केही दिनमै ठाकुर आएर आफ्नो काम शुरु गर्नु भो । मेरो काम सामुदायिक रेडियोबाट प्रसारण गर्ने कार्यक्रम तयार गर्न सक्ने युवा जनशक्ति छान्ने, तालिम दिने र रेडियोमा बोल्न र कार्यक्रम निर्माण गर्न केहीलाई सक्षम बनाउने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)