मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी कार्कीद्वारा ४४ प्रहरी अधिकृत सुशोभित, जिम्मेवारीप्रति थप उत्तरदायी बन्न निर्देशन

barnanmedia.com · Thu Jun 11 01:10:29 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा उहाँले पदोन्नतिप्राप्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

नेपाल सरकारको जेठ २१ गतेको निर्णयअनुसार जनपद र प्राविधिकतर्फ गरी प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक तथा प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका कुल ४७ जनामध्ये ४४ जना अधिकृत समारोहमा सुशोभित भएका हुन्। बाँकी ३ जना अधिकृत हाल तालिमका लागि दक्षिण कोरियामा रहेका कारण कार्यक्रममा सहभागी हुन सकेनन्।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै नयाँ जिम्मेवारीसँगै अझ बढी व्यावसायिक, सिर्जनशील, जवाफदेही र संवेदनशील भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले लगनशीलता, इमानदारिता र सेवाप्रतिको प्रतिबद्धताकै आधारमा पदोन्नति प्राप्त भएको उल्लेख गर्दै संगठनको गरिमा र जनविश्वासलाई थप बलियो बनाउन आग्रह गर्नुभयो।

आईजीपी कार्कीले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणमा जनपद र प्राविधिक दुवै समूहको महत्वपूर्ण भूमिका रहेको बताउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। साथै, बदलिँदो परिस्थितिसँगै नागरिकको अपेक्षा पनि बढ्दै गएकाले निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा पदोन्नतिप्राप्त अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले संगठनप्रतिको जिम्मेवारीलाई पूर्ण समर्पणका साथ निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय