कालोसूचीमा परेका र कैद माफी पाएकालाई राज्यमन्त्री
ekantipur.com · Fri Aug 02 23:27:26 UTC 2024

काठमाडौँ र धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री थपेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट रूपा विक र पूर्णबहादुर (कान्छाराम) तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । उनीहरूमध्ये तामाङ बैंकको ऋण नतिरेर कालोसूचीमा परेका हुन् भने चौधरी ट्र्याक्टर आगजनी घटनामा जेल परेर छुटेका व्यक्ति हुन् ।
तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । ओली नेतृत्वको सरकारमा यसअघि असार ३१ मै जलविद्युत् कम्पनीका लगानीकर्ता कांग्रेस सांसद दीपक खड्का ऊर्जामन्त्री बनेका छन् । स्वार्थ जोडिएको मन्त्रालय खड्कालाई दिइएको भनेर आलोचना भइरहेकै बेला त्यही मन्त्रालयमा कालोसूचीमा परेको कान्छाराम निर्माण कम्पनीका सञ्चालक तामाङलाई राज्यमन्त्री बनाइएको हो । कान्छाराम निर्माण कम्पनी ‘ख’ वर्गको हो । निर्माण व्यवसायी महासंघले ०७९ सालमा प्रकाशन गरेको निर्माण व्यवसायीसँग सम्बन्धित पुस्तकमा उक्त कम्पनीका सञ्चालक तामाङ रहेको उल्लेख छ । यस कम्पनीले लिएका प्रायः ठेक्का समयमा सकिने गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)