युद्धको भूराजनीतिक चक्रव्यूह
gorkhapatraonline.com · Thu Jun 11 01:35:12 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको प्रत्यक्ष वार्ता प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो । अमेरिका र युरोपबाट आर्थिक साथसाथै हतियार सहयोग कम भएपछि अत्तालिनु भएका जेलेन्स्की अहिले युद्ध टुङ्ग्याउने पक्षमा हुनुहुन्छ । उहाँले अब युद्ध जित्ने आशा मारिसक्नुभएको छ । अमेरिका पश्चिम एसियाको युद्धमा होमिएकाले युक्रेनलाई आर्थिक र हतियार सहयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । युरोपेली सङ्घको सहयोग अपुग छ । चीन र उत्तर कोरियाबाट भरपुर सहयोगले रुसको हात यतिखेर माथि परेको छ । उसले यतिबेला युक्रेनमाथि दबाबमूलक आक्रमणलाई तीव्र पारेको छ । युद्धका क्रममा रुसले युक्रेनको करिब २५ प्रतिशत भूभाग कब्जा गरेको छ । राष्ट्रपति पुटिन आफ्नो नियन्त्रणमा आएको युक्रेनी भूभाग फिर्ता नगर्ने पक्षमा हुनुहुन्छ । साथसाथै युक्रेन युरोपेली सङ्घ (इयु) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य नबन्ने सर्त मान्न तयार भए मात्र वार्ता गर्न सकिने पक्षमा हुनुहुन्छ । पुटिनको यो अडानले जेलेन्स्की धर्मसङ्कटमा पर्नुभएको छ ।
वास्तविकता के हो भने अमेरिका, इयु र नेटोको सहयोगबिना जेलेन्स्कीले युद्धलाई निरन्तरता दिन सक्नुहुन्न । युद्धका क्रममा युक्रेनले आफ्ना चार वटा प्रान्त गुमाइसकेको छ । युद्ध जारी रहे थप प्रान्त गुम्ने खतरा छ । यही सम्भावित खतरा दृष्टिगत गरी जेलेन्स्कीले प्रत्यक्ष वार्ता गरी युद्ध अन्त्य गर्न चाहनुभएको हो । उहाँ आर्थिक र आन्तरिक राजनीतिको हिसाबले पनि कमजोर बन्नुभएको छ । युक्रेनमा राष्ट्रपतिको आवधिक निर्वाचन हुन सकेको छैन । विगत दुई वर्षदेखि उहाँले अनिर्वाचित सत्ता चलाइरहनुभएको छ । उहाँ मुलुकभित्र अलोकप्रिय बन्नुभएको छ ।
युद्धका क्रममा लाखको सङ्ख्यामा सेना मारिएका छन्, हजारौँको सङ्ख्यामा सर्वसाधारण नागरिकको ज्यान गएको छ । युद्धका कारण ५० लाखभन्दा बढी युक्रेनी नागरिक शरणार्थी बनी युरोपका विभिन्न मुलुकमा पुगेका छन् । ४० लाखभन्दा बढी नागरिक आन्तरिक रूपमा विस्थापित भएका छन् । भौतिक क्षति अकल्पनीय छ । धेरै जसो पूर्वाधार ध्वस्त भएका छन् । अर्थतन्त्र तहसनहस भएको छ । मुलुकले भोगेको यो गम्भीर दुर्दशाका कारण नै जेलेन्स्की बन्नुभएको छ । उहाँले छिमेकी रुससँग मिलेर बस्ने, इयु र नेटोतिर नढल्किने परिपक्क कूटनीति लिनुभएको भए युद्ध नै हुने थिएन । उहाँको कच्चा राजनीतिक महìवाकाङ्क्षाले युक्रेन त ध्वस्त भयो नै, विश्व अर्थतन्त्रसमेत गम्भीर सङ्कटमा फस्यो ।
सन् २०२२ फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको हो । पाँचौँ वर्षमा प्रवेश गरेको यो युद्ध युरोपमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा लामो युद्ध हो । यो युद्ध अन्त्य गर्न यस अवधिमा विभिन्न चरणमा अन्तर्राष्ट्रिय प्रयास गरे पनि सफलता मिलेको छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतामा संयुक्त अरब इमिरेट्स र स्विट्जरल्यान्डमा गराउनुभएका विभिन्न चरणका शान्तिवार्ताबिना निष्कर्ष टुङ्गिएका छन् । उहाँ स्वयम्ले पनि पुटिन र जेलेन्स्कीसँग पटक पटक संवाद गर्नुभयो । युद्ध अन्त्य गर्न अल्टिमेटमसमेत दिनुभयो । तैपनि निकास निस्केन । बल्ल अहिले हतियार र आर्थिक हिसाबले कमजोर भएपछि युक्रेन युद्धको मोर्चालाई यथास्थितिमा ‘फ्रिज’ गरेर कूटनीतिक बाटो रोज्न तयार भएको छ । पुटिन भने युक्रेनलाई थप कमजोर बनाएर आफ्ना सर्त मान्न बाध्य पार्ने कठोर रणनीतिमा हुनुहुन्छ ।
सन् २०२२ फेब्रुअरी २४ मा जब रुसी ट्याङ्क युक्रेनी सीमाभित्र प्रवेश गरे, धेरै विश्लेषकले यो युद्ध केही दिन, बढीमा केही सातामै टुङ्गिने अनुमान गरेका थिए तर समयको गतिसँगै यो युद्धले पाँचौँ वर्षको कठिन यात्रा तय गरिसक्दा पनि अन्त्य हुने लक्षण देखिएको छैन । शीतयुद्धकालीन मानसिकता, विश्वव्यापी महाशक्ति बन्ने होड र क्षेत्रीय सुरक्षास्वार्थका कारण अल्झिएको रुस–युक्रेन युद्धले विश्व भूराजनीति र अर्थतन्त्रलाई नै गम्भीर मोडमा पु¥याएको छ । युद्धको प्रारम्भिक चरणमा रुसले युक्रेनको राजधानी किभसहितका प्रमुख सहर कब्जा गर्ने रणनीति लिएको थियो । यद्यपि युक्रेनी नागरिक, सेनाको कडा प्रतिरोध र पश्चिमा देशको आर्थिक तथा हतियार सहयोगका कारण रुस पूर्वी डोनबास, लुहान्स्क, डोनेत्स्क, जापोरिझिया र खेर्सान जस्ता क्षेत्रमा सीमित हुन पुग्यो । यी क्षेत्र रुसको कब्जामा छन् । अहिले युद्धको स्वरूपमा परिवर्तन आएको छ । विगतमा सीमा क्षेत्रमा मात्र केन्द्रित लडाइँ अहिले प्रविधि र ड्रोन युद्धमा रूपान्तरण भएको छ । युक्रेनले लामो दुरीका ड्रोन र हतियारको प्रयोग गरी रुसको भित्री भूभाग, विशेष गरी सेन्ट पिटर्सबर्ग र मस्को जस्ता सुरक्षित मानिएका सहरका सैन्य र तेल भण्डारमा आक्रमण गर्न थालेको छ । यसले रुसको घरेलु सुरक्षामा धक्का लागेको छ । बदलामा रुसले युक्रेनका ऊर्जा पूर्वाधार र नागरिक बस्तीमा समेत क्षेप्यास्त्र वर्षा गरिरहेको छ, जसका कारण युक्रेनमा जनधनको क्षति निरन्तर बढेको छ ।
पछिल्लो पटक पुटिनको वार्ता सर्त स्पष्ट छ, “युक्रेनले आफ्ना चार वटा कब्जा गरिएका प्रान्तमा रुसी आधिपत्यलाई पूर्ण रूपमा स्विकार्नु पर्छ साथै इयु र नेटोको सदस्यता लिने योजना सदाका लागि त्याग्नु पर्छ ।” अर्कोतर्फ, जेलेन्स्की र उहाँका पश्चिमा सहयोगी राष्ट्रहरू युक्रेनको सार्वभौमसत्ता र भूभाग रुसलाई सुम्पेर सम्झौता गर्ने पक्षमा छैनन् । दुवै पक्षको यो ‘शून्य सम्झौता’ को अडान नै शान्ति स्थापनाको सबैभन्दा ठुलो तगारो बनेको छ । पुटिनले यो युद्धलाई केवल युक्रेनसँगको लडाइँ मात्र नभई पश्चिमा जगत् र नेटोको विस्तारवादविरुद्धको ऐतिहासिक लडाइँका रूपमा प्रस्तुत गर्नुभएको छ । रुसी संसद् र कानुनमा गरिएका पछिल्ला संशोधनले पुटिनलाई आफ्नो राष्ट्रिय स्वार्थका लागि थप आक्रामक बन्ने बाटो खोलिदिएको छ । युक्रेनका लागि यो युद्ध आफ्नो राष्ट्रिय पहिचान र सार्वभौमिकता जोगाउने अस्तित्वको लडाइँ बनेको छ । भूभाग त्यागेर गरिने शान्ति सम्झौताले युक्रेनी जनता र सेनाको मनोबल गिराउने मात्र नभई भविष्यमा रुसलाई पुनः आक्रमण गर्न प्रोत्साहन मिल्ने युक्रेन पक्षधरको बुझाइ छ ।
रुसको सेखी तोड्न र हराउन भनी अमेरिका, इयु र नेटोले युक्रेनलाई अर्बौं डलरका हतियार र आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् । उनीहरूको रणनीतिक उद्देश्य युक्रेनको माध्यमबाट रुसको सैन्य र आर्थिक सामथ्र्यलाई कमजोर बनाउनु हो । यसका लागि चालिएका रणनीतिले अपेक्षित सफलता हासिल हुन सकेन । पछिल्ला वर्षमा विश्वको ध्यान केवल युक्रेनमा मात्र सीमित रहेन । पश्चिम एसियामा इरान र इजरायलबिचको बढ्दो तनाव तथा अमेरिका आफैँ इरानसँगको युद्धमा होमिएको छ । सोही कारण युक्रेन सङ्कट सल्टाउन अन्तर्राष्ट्रिय समुदायले पूर्ण शक्तिकेन्द्रित गर्न सकेको छैन ।
हुन त यो युद्धबाट रुस र युक्रेन दुवैमध्ये कसैलाई पनि फाइदा भएको छैन; बरु दुवै राष्ट्रले ठुलो क्षति बेहोरेका छन् । रणनीतिक र दीर्घकालीन रूपमा हेर्दा यो युद्ध दुवै देशका लागि प्रत्युत्पादक बन्ने स्थितिमा छ । रुसले युक्रेनको पूर्व र दक्षिणतर्फको औद्योगिक क्षेत्र (डोनबास, लुहान्स्क, डोनेत्स्क र क्रिमिया) को ठुलो भूभागमा आफ्नो नियन्त्रण कायम राख्न सफल भएको छ । मस्कोले यसको बदलामा चर्को मूल्य चुकाउनु परेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रुसी अर्थतन्त्र विश्व बजारबाट अलग्गिएको छ । लाखौँ युवा सैनिकको मृत्यु भएको छ भने दक्ष जनशक्ति देश छोडेर भागेका छन् । सबैभन्दा ठुलो कुरा, रुसले जुन नेटो विस्तार रोक्न युद्ध सुरु गरेको थियो, उल्टै फिनल्यान्ड र स्विडेन जस्ता छिमेकी देशहरू नेटोमा सामेल भएर रुसी सिमानासम्म नेटो पुगेको छ । भूराजनीतिक हिसाबले रुसका लागि यो नयाँ चुनौती हो ।
अर्कोतर्फ युद्धका कारण युक्रेनको भौतिक पूर्वाधार, सहरहरू र ऊर्जा प्रणाली पूर्ण रूपमा ध्वस्त भएका छन् । देशको अर्थतन्त्र पश्चिमा देशहरूको ऋण र अनुदानमा निर्भर बनेको छ । लाखौँ नागरिक विस्थापित वा शरणार्थी भएका छन् । आफ्नो सार्वभौम भूभागको करिब २५ प्रतिशत हिस्सा रुसको कब्जामा परेको छ । अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकका अनुसार यस युद्धबाट रुस वा युक्रेन दुवैलाई घाटा भएको छ । तेस्रो पक्षले यसको फाइदा उठाएको छ । अमेरिका र नेटो आफ्ना सैनिक युद्धमा नपठाइकन हतियार र आर्थिक सहयोगको भरमा रुसको सैन्य र आर्थिक सामथ्र्यलाई कमजोर बनाउन सफल भएका छन् । रुस पश्चिमी देशबाट एक्लिएपछि ऊ पूर्ण रूपमा चीनको आर्थिक र राजनीतिक साखमा निर्भर हुन पुगेको छ । यसले चीनलाई सस्तोमा इन्धन प्राप्त हुनुका साथै वैश्विक राजनीतिमा उसको ‘बार्गेनिङ पावर’ बढेको छ । यही द्वन्द्वको निहुँमा अमेरिका र युरोपका ठुला रक्षा उद्योगले अर्बौं डलरका हतियार बिक्री गर्ने अवसर पाएका छन् । रुसले युक्रेनको केही भूभाग कब्जा गरे पनि वैश्विक राजनीति, अर्थतन्त्र र मानवीय क्षतिका हिसाबले यो युद्धमा रुस र युक्रेन दुवैले ठुलो क्षति भोगेका छन् ।
रुस–युक्रेन युद्धमा हालसम्म अनुमानित १७ लाखभन्दा बढी सैनिक हताहत (घाइते तथा मारिएका) भएका छन् भने २० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । आर्थिक क्षतिको कुरा गर्दा, युक्रेनको पुनर्निर्माणका लागि मात्रै आगामी दशकमा ५८८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ । पश्चिमा गुप्तचर र सैन्य विश्लेषकका अनुसार यस युद्धमा रुसले सबैभन्दा ठुलो सैन्य क्षति बेहोरेको छ । रुसका १२ लाखभन्दा बढी सैनिक हताहत (घाइते, मारिएका वा बेपत्ता) भएका छन्, जसमध्ये तीन लाख २५ हजारभन्दा बढीको मृत्यु भइसकेको अनुमान छ । यो सङ्ख्या दोस्रो विश्वयुद्धपछि कुनै पनि महाशक्ति राष्ट्रले बेहोरेको सबैभन्दा ठुलो सैन्य क्षति हो । युक्रेनतर्फ पाँच लाखदेखि छ लाखसम्म सैनिक हताहत भएका छन्, जसमा एक लाखदेखि एक लाख ४० हजारसम्म सैनिकले ज्यान गुमाएका छन् ।
राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयका अनुसार युक्रेनमा कम्तीमा १५ हजार ८५० जना सर्वसाधारण मारिएका छन् भने ४४ हजारभन्दा बढी घाइते भएका छन् । मृतकमध्ये ७६० भन्दा बढी बालबालिका छन् । वास्तविक सङ्ख्या योभन्दा निकै बढी हुन सक्ने राष्ट्रसङ्घको भनाइ छ । युक्रेनका करिब ६० लाख नागरिक शरणार्थीका रूपमा युरोपभरि छरिएका छन् भने ३७ लाखभन्दा बढी देशभित्रै आन्तरिक रूपमा विस्थापित भएका छन् ।
रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण युक्रेनका आवास, यातायात र ऊर्जा प्रणाली (बिजुलीघर) पूर्ण रूपमा ध्वस्त भएका छन् । युक्रेनलाई हालसम्म १९५ अर्ब डलरको प्रत्यक्ष भौतिक क्षति भइसकेको छ । विश्व बैङ्क, युरोपेली आयोग र राष्ट्रसङ्घको संयुक्त प्रतिवेदन अनुसार युक्रेनको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि ५८८ अर्ब डलर आवश्यक पर्छ, जुन युक्रेनको कुल गार्हस्थ उत्पादनभन्दा तीन गुणाभन्दा बढी हो । रुसले युद्धका लागि दैनिक ५० करोडदेखि एक अर्ब डलर खर्च गरिरहेको अनुमान छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रुसको राष्ट्रिय ऋण २१ प्रतिशतले बढेर ३७५ अर्ब युरो पुगेको छ । सन् २०२५÷२६ मा उसको आर्थिक वृद्धिदर खुम्चिएर केवल ०.६ प्रतिशतमा सीमित भएको छ । यस युद्धका कारण विश्व अर्थतन्त्रलाई हालसम्म करिब २८ खर्ब अमेरिकी डलर बराबरको गम्भीर आर्थिक क्षति भइसकेको छ । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व आर्थिक मञ्च जस्ता संस्थाका अनुसार यो युद्ध केवल दुई देशमा मात्र सीमित नरहेर यसले विश्वभरकै आपूर्ति शृङ्खला ध्वस्त पारेको छ । युद्धले विश्वव्यापी आर्थिक मन्दी ल्याएको छ भने कुल गार्हस्थ उत्पादनमा गिरावट आएको छ । अतः अब यो युद्ध अन्त्य गर्न एउटा लेनदेनको सम्झौतामा पुग्न आवश्यक छ । पुटिन र जेलेन्स्की प्रत्यक्ष वार्तामा बसी उपयुक्त निकास निकाल्नु उत्तम विकल्प हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भ्लोदोमिर जेलेन्स्की
डोनाल्ड ट्रम्प
अन्तर्राष्ट्रिय मुद्रा कोष