युद्धको भूराजनीतिक चक्रव्यूह
gorkhapatraonline.com · Thu Jun 11 01:35:12 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको प्रत्यक्ष वार्ता प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो । अमेरिका र युरोपबाट आर्थिक साथसाथै हतियार सहयोग कम भएपछि अत्तालिनु भएका जेलेन्स्की अहिले युद्ध टुङ्ग्याउने पक्षमा हुनुहुन्छ । उहाँले अब युद्ध जित्ने आशा मारिसक्नुभएको छ । अमेरिका पश्चिम एसियाको युद्धमा होमिएकाले युक्रेनलाई आर्थिक र हतियार सहयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । युरोपेली सङ्घको सहयोग अपुग छ । चीन र उत्तर कोरियाबाट भरपुर सहयोगले रुसको हात यतिखेर माथि परेको छ । उसले यतिबेला युक्रेनमाथि दबाबमूलक आक्रमणलाई तीव्र पारेको छ । युद्धका क्रममा रुसले युक्रेनको करिब २५ प्रतिशत भूभाग कब्जा गरेको छ । राष्ट्रपति पुटिन आफ्नो नियन्त्रणमा आएको युक्रेनी भूभाग फिर्ता नगर्ने पक्षमा हुनुहुन्छ । साथसाथै युक्रेन युरोपेली सङ्घ (इयु) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य नबन्ने सर्त मान्न तयार भए मात्र वार्ता गर्न सकिने पक्षमा हुनुहुन्छ । पुटिनको यो अडानले जेलेन्स्की धर्मसङ्कटमा पर्नुभएको छ ।
वास्तविकता के हो भने अमेरिका, इयु र नेटोको सहयोगबिना जेलेन्स्कीले युद्धलाई निरन्तरता दिन सक्नुहुन्न । युद्धका क्रममा युक्रेनले आफ्ना चार वटा प्रान्त गुमाइसकेको छ । युद्ध जारी रहे थप प्रान्त गुम्ने खतरा छ । यही सम्भावित खतरा दृष्टिगत गरी जेलेन्स्कीले प्रत्यक्ष वार्ता गरी युद्ध अन्त्य गर्न चाहनुभएको हो । उहाँ आर्थिक र आन्तरिक राजनीतिको हिसाबले पनि कमजोर बन्नुभएको छ । युक्रेनमा राष्ट्रपतिको आवधिक निर्वाचन हुन सकेको छैन । विगत दुई वर्षदेखि उहाँले अनिर्वाचित सत्ता चलाइरहनुभएको छ । उहाँ मुलुकभित्र अलोकप्रिय बन्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)