यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै
nayapatrikadaily.com · Tue Oct 18 00:28:00 GMT 2022
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै तालिकाअनुसार सातामा तीन दिन उडान गर्ने भएको हो ।
जजिराले भैरहवामा विमानस्थल सञ्चालनमा आएकै दिनदेखि नियमित उडान गर्दै आएको छ । २ जेठ ०७९ देखि सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै आइरहेको जजिराले ३१ भदौदेखि दैनिक उडान थालेको थियो । तर, पर्याप्त यात्रु नपाएपछि गत हप्तादेखि नै उडान कम गरेको एयरवेज स्रोतको भनाइ छ । भैरहवामा सातामा तीन उडान गर्दा राम्रै यात्रु पाएर हौसिएको जजिराले दैनिक उडान थालेको थियो । दैनिक उडानमा विदेशबाट भैरहवा आउने यात्रु राम्रै पाइए पनि फर्किंदा कम हुँदै गएको जिबिआइएका एक कर्मचारीले बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पाँच महिना भइसक्दा पनि अहिलेसम्म जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)