पर्यटकीय र कमाइ हुने रुटमा उड्दैनन् नेपाल एयरलाइन्सका जहाज
nayapatrikadaily.com · Mon Aug 09 00:31:00 GMT 2021
पर्याप्त पाइलट र उडान कर्मचारी हुँदाहुँदै पनि नेपाल वायुसेवा निगमका जहाजको उडान संख्या क्षमताको तुलनामा निकै कम रहेको छ । सीमित स्थानमा मात्रै उडान गर्ने निगमका जहाजले पर्यटकीय र कमाइ हुने रुटमा जाने तयारीसमेत गरेको छैन । पर्यटकीय क्षेत्र लुक्ला, जोमसोम, बझाङ, मुस्ताङ, अछाम साँफेबगर, ताप्लेजुङ र डोल्पामा नेपाल एयरलाइन्सको उडान छैन । यसअघि मुस्ताङ, डोल्पा र लुक्लामा उडान हुने गरे पनि केही वर्षयता ठप्प छ । लुक्ला र मुस्ताङमा ०६७ चैतदेखि र डोल्पामा २ वर्षदेखि उडान बन्द छ ।
निगमका दुईवटा ट्विनअटर (डिएचसी–६) जहाजले नेपालगन्ज, भोजपुर, खानीडाँडा, रुकुम, सिमिकोट, जुम्ला, बाजुरा, रारालगायतका स्थानमा निकै कम उडान गर्दै आइरहेका छन् । मासिक ५ सय घन्टा उडान गर्न सक्ने निगमका जहाज अहिले करिब २ सय घन्टा ४२ मिनेट मात्रै उड्ने गरेको तथ्यांकले देखाउँछ तथ्यांकअनुसार निगमका जहाजले दैनिक ८ घन्टा र हप्तामा ५७ घन्टा २० मिनेट उडान गर्ने गरेको छ । निगमले आफ्नो उडान गन्तव्य थप गर्न नसक्दा जहाजले निकै कम उडान गर्ने गरेको निगमको इन्जिनियरिङ शाखाका पूर्वप्रमुख अच्युतराज पहाडीले जानकारी दिए । मासिक ५ सय घन्टासम्म उडान गर्ने क्षमता भए पनि कम उडान भरेर जहाज थन्क्याउने गरिएको उनको भनाइ छ । ‘केही पाइलट र कर्मचारीकै कारण निगमको उडान खुम्चिएको हो, अहिले राम्रो कमाइ र धेरै प्यासेन्जर हुने ठाउँमा निगमको उडान नै छैन, त्यो ठाउँमा निजी हवाई कम्पनी हाबी छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)