मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङमा अलैँची महोत्सव हुने

gorkhapatraonline.com · Thu Jun 11 02:34:52 GMT 2026

ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको हाङ्पाङमा अलैँची महोत्सव हुने भएको हो ।

नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा आउँदो असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको हो । अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने अलैँची महोत्सव हाङ्पाङमा आयोजना गर्ने निश्चित भएको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिनुभयो ।

संयोजक आङ्बुहाङका अनुसार आठराई त्रिबेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने वस्तुको प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थको प्रदर्शनी, स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको अवलोकन लगायतका गतिविधि हुने उहाँले बताउनुभयो ।

महोत्सवमा आधुनिक अलैँची खेतीसम्बन्धी किसान कार्यशाला, अलैँची व्यवसायी अर्थात खरिदकर्ता र बिक्रेताबिच अन्तरक्रिया, अलैँची विज्ञ टोलीबिच अलैँचीको आधुनिक खेती र बजार विस्तारसम्बन्धी छलफलको कार्यक्रम पनि रहेको छ । त्यस्तै अलैँची खेतीमा संलग्न सफल किसानलाई सम्मान गर्ने, अलैँची खेती र प्रवद्र्धनसँग सम्बन्धित खुला कविता तथा लोक दोहोरीसहित सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने समितिका संयोजक आङ्बुहाङले जानकारी दिनुभयो ।

अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । यहाँको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबैमा अलैँची खेती हुने गरेको छ । नेपालमा कुल उत्पादन हुने अलैँचीमध्ये करिव ४७ प्रतिशत हिस्सा ताप्लेजुङमा उत्पादन हुने बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)