मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एआईजीपी दलको हो कि, देश र जनताको ?

rajdhanidaily.com · Tue Mar 22 23:23:39 GMT 2022

राज्य संयन्त्रलाई राजनीतिक स्वार्थमा परिचालित गराउने विकृति समाजमा बढ्दै आएको छ । राज्य प्रशासनलाई नेताले आमनागरिकको हित र स्वार्थभन्दा दलीय हित र निजी स्वार्थमा परिचालित गराउँदै आएका छन् । स्थापनाकालदेखि नै राजनीतिक प्रभावको सामना गर्दै आएको नेपाल प्रहरी पछिल्लो समयमा सत्तासिन नेताकै खेलौना बनेको छ । प्रहरीको संगठनात्मक कार्य पनि विधिवतभन्दा नेताकै चाहनामा सम्पदित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसको परिणाम नेपाल प्रहरी अहिले राजनीतिक प्रभाव थेग्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । नेताले आफ्नै व्यक्ति अटाउनकै निम्ति अनावश्यक रूपमा उच्च पदाधिकारीको पद सिर्जना गर्ने र कहिले अनावश्यक भनी कटौती गर्ने, सरुवा बढुवा र पदस्थापनामा दलीय आस्थाकै व्यक्तिलाई महत्व दिने, स्वच्छ र पारदर्शी कार्य गर्ने इमानदार दक्ष व्यक्ति सधैं पछि परिरहने तथा सिंगो प्रहरी संगठनलाई नै दलीय संगठनकै नजरले हेर्ने प्रवृत्ति राजनीतिमा हाबी भएको छ ।

यसको पछिल्लो दृष्टान्त तीन आईजीपीको दरबन्दी थप, सो पदमा बढुवाका लागि भएको सिफारिस प्रकरणलाई लिन सकिन्छ । वास्तवमा प्रहरीको बढुवा मनमौजी रूपमा होइन व्यवस्थित र कानुनी प्रक्रियाअनुरूपै हुनुपर्छ । उच्च पदस्थ पदाधिकारी वा एआईजीपीकै बढुवा व्यवस्थालाई हेर्दा बढुवा समितिमा सचिव गृह मन्त्रालय अध्यक्ष, सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहने गरी तीन सदस्यीय बढुवा समिति हुने व्यवस्था प्रहरी नियमावलीले गरेको छ । प्रहरी नियमावली २०७१ को संशोधनसहितको नियम २७ को उपनियम १(क) मा भएको यो व्यवस्था अहिले लागू भइरहेको छ । समितिमा रहेका तीन जनामध्ये संगठन प्रमुख प्रहरी महानिरीक्षक ८० हजार प्रहरी संगठनलाई परिचालित गराउने कमाण्डर भएकाले, उच्च पदस्थ पदाधिकारीको बढुवा स्वच्छ, पारदर्शी र उम्मेदवारको कार्य दक्षताकै आधारमा हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिमा पर्दछन् । गृह सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भने नेताको इसारामा चल्ने अर्ध राजनीतिक पदाधिकारी नै भएकाले उनीहरूले नेताको रोजाइकै व्यक्ति बढुवा गर्दा संगठनभित्र नकारात्मक असर पर्दछ भन्ने कुरालाई ध्यान दिँदैनन् । यो उनीहरूको सरोकारको विषय नै हुँदैन । उनीहरू नेता रिझाएर आफ्नो कर्तव्य पूरा भएको ठान्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)