हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेण्डाले हामीलाई जीवित राख्छ– सिके राउत
setopati.com · Sun Mar 08 04:18:59 GMT 2026
जनमत पार्टीका अध्यक्ष सिके राउतले देशभरिकै मत–परिणाम करीब–करीब उस्तै प्रकृतिको रहेको भन्दै हावाहुरी स्थायी नहुने प्रतिक्रिया दिएका छन्। निर्वाचन परिणामपछि पारम्भिक प्रतिक्रिया दिँदै सिद्धान्त र एजेण्डाले पार्टीलाई चिरकालसम्म समाजमा जीवित राख्ने बताएका छन्।
‘देशभरिकै मत–परिणाम करीब–करीब उस्तै प्रकृतिको छ। अहिलेको खराब परिणाम विशेष परिस्थितिको उपज हो, कुनै पार्टी, नेता वा उम्मेदबारको विषय होइन। ठुल्ठूला इतिहास बोकेका ७०–८० वर्षदेखि स्थापित पार्टीहरू, बृहत् संगठन संरचना भएका पार्टीहरू, वर्षौंदेखि प्रशिक्षित लाखौं क्रियाशील सदस्य भएका अनुशासित पार्टीहरू, मधेश आन्दोलन गरेर आएका तथा पार्टी एकता गरेर आएका पार्टीहरूका नेता तथा उम्मेदबारहरू सबैको हालत उस्तै छ,’ उनले भनेका छन्।
यस परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा लिन नहुने र परिस्थितिजन्य कुराको रूपमा स्वीकारेर अगाडि बढ्नुपर्ने बताएका छन्।
‘अलिकति पनि निराश हुनै पर्दैन। जनताले दिएको आदेश स्वीकार गरौं, जितेकालाई सरकार चलाउन दिऔं। धेरै विश्लेषण र बहसमा पनि अल्झिनु पर्दैन। समाजमा आफ्नो पार्टीको होस् कि बाहिरको, कसैमाथि आरोप–प्रत्यारोप वा कसैप्रति रुखो भाषा प्रयोग नगर्नुहोला। आफ्नो गाउँ–ठाउँमा सबैसँग विनम्र भएरै पेश हुनुहोस्, सबैलाई धन्यवाद दिनुहोस्, र जनताको चरणमा आफ्नो सेवा जारी राख्नुहोस्,’ उनले पार्टी पंक्तिलाई भनेका छन्।
उनले एक–दुई वर्ष मात्रै पर्खन भनेका छन्। त्यसपछि सबै कुरा छर्लङ्ग हुने र फेरि जनता आफूहरूतिरै आउने उनको भनाइ छ।
‘हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेण्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ,’ उनले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)