मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ मा

lokaantar.com

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले आगामी ७ गते नीति तथा कार्यक्रम ल्याउने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

जेठ ६ गते प्रदेशसभाको बैठक बोलाइएको छ । ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी रहेको उनले बताए ।

यसपटकको नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले केही नयाँ र जनमुखी योजनालाई प्राथमिकतामा राखेको छ ।

विशेषगरी सरकारी स्तरबाटै सुधार केन्द्र स्थापना गर्ने योजनालाई यसपटक प्राथमिकतामा राखिएको उनले बताए । हाल निजी क्षेत्रबाट मात्र लागूऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालन भइरहेको अवस्थामा सरकारले प्रदेशका दुई स्थानमा सरकारी स्तरका सुधार केन्द्र राख्ने तयारी गरेको हो ।

यसका लागि विगतमा कोभिड–१९ का समयमा निर्माण गरिएका क्वारेन्टाइन स्थललाई प्रयोगमा ल्याइने मन्त्री पराजुलीले जानकारी दिए ।

त्यसैगरी, पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ नियन्त्रण गर्नु सरकारको अर्को मुख्य एजेन्डा रहेको छ । पहाडबाट हुने पलायन रोक्न र मानिसहरूलाई आफ्नै थातथलोमा बस्न प्रोत्साहन गर्ने उद्देश्यले पहाड केन्द्रित पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका कार्यक्रम ल्याइने भएको छ ।

पहाडी क्षेत्रमा औद्योगोकरणमा ध्यान दिँदै आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको मन्त्री पराजुलीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)