कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा
lokaantar.com

कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आज साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।
कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मत सदर र तीन हजार नौ (५.२६ प्रतिशत) मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका छन् ।
बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली काँग्रेस का उम्मेदवार प्रकाशचन्द्र दवाडी भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरेका छन् । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै लेखनाथ न्यौपाने ले ११ हजार ७३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का मिलन गुरुङ (चक्रे मिलन) ले तीन हजार ८७ मत मात्र पाएका छन् ।
प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी का संस्थापक सदस्यमध्येका हुन् । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बने । अहिले पनि उनी रास्वपाका महामन्त्री छन् ।
उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रूपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाइँ सरेका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए ।
गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँ जीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौं प्रवेश गरे । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उनी एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गरे । स्नातक तह अध्ययन गर्ने क्रममा उनी युवा सशक्तीकरणका विभिन्न अभियानमा संलग्न भए ।
फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाबाट ‘ह्युमन राइट्स एन्ड बिजनेस’ कोर्स अध्ययन गरे । मलेसियाको आइकम इन्स्टिच्युटबाट ‘युथ लिडरसिप’ कोर्स पनि पूरा गरे ।
त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था ‘युनाइटेड युथ’ दर्ता गरी संस्थापक अध्यक्षका रूपमा युवा सशक्तीकरण अभियान सुरु गरे । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाका संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भयो ।
त्यसलगत्तै २०६९ सालतिर उनले फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासंघ’ दर्ता गरे । यसमा देशभरका युवा संस्थाहरू आबद्ध थिए ।
“यो महासंघमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन्,” उनले भने, “यही बीचमा संयुक्त राष्ट्रसंघको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ ।”
पार्टीका लागि जीउज्यान दिएको प्रतिफल अहिले देश ‘घण्टीमय’ भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता र दक्षता रहेको उनको भनाइ छ ।
“नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्,” उनले भने, “अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो ।” रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)