कृत्रिम (प्रोस्थेटिक) अंगले सजिलो बनाएको जीवन (तस्बिरसहित)
baahrakhari.com · Tue Mar 29 00:42:00 GMT 2022
काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाले घाइते तथा दुर्घटनामा परेर हात खुट्टा गुमाएका सैनिक र तिनका परिवारको लागि कृत्रिम (प्रोस्थेटिक) अंग सहायता प्रदान गर्दै आएको छ । सेनाले पुनस्थापना केन्द्रअन्तर्गत सो सहायता प्रदान गर्दै आएको हो । सन् २००९ बाट सुरु गरेको उक्त सेवा पहिले रेडक्रस अन्तर्राष्ट्रिय समितिको सहयोगमा दिँदै आएकोमा हाल भने संस्थाले आफ्नै पहलमा गर्ने गरेको प्राविधिक सहायक रथी डा. सरीता केसी बताउँछिन् ।
यसका लागि केन्द्रमा आफ्नै अंग बनाउने मेसिन, औजार र कच्चा पदार्थ छन् । यी कृत्रिम अंगहरु विभिन्न तत्वहरु जोडेर बन्ने गरेको छ । केन्द्रले बिरामीको खुट्टा र हातको आकारअनुसार कृत्रिम अंग बनाउँछ । यी अंग बनेपछि बिरामीलाई लगाएर कृत्रिम अंग प्रयोग गर्न फिजियो थेरापिस्टले सिकाउँछन् । एकपटक प्रयोग गरेको अंग छ महिनासम्म प्रयोग गर्न मिल्ने डा. सुकदेव पौडेल बताउँछन् । विदेशमा कृत्रिम अंग लगाएर हिँड्ने, डुल्नेका साथै खेलकुद्ने समेत गर्ने गर्छन् । तर, पौडेलकाअनुसार नेपालमा त्यति उच्च कोटीको कृत्रिम अंग बनिसकेको छैन । तर, छिट्नै केन्द्रले त्यसमा पनि काम गर्ने उनले बताए । केन्द्रले अहिले सैनिक र सैनिक परिवारलाई मात्र सेवा दिइराखे पनि निकट भविष्यमा सर्वसाधारणलाई पनि सेवा दिने बताइएको छ । यसका लागि केन्द्रले नयाँ उपकरणमसेत ल्याउन लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)