इरानले भन्यो- अमेरिकासँग वार्ता जारी छ
baahrakhari.com · Mon May 18 09:28:08 GMT 2026

काठमाडौं । इरानले अमेरिकासँग वार्ता जारी रहेको जनाएको छ । अलजजिराका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच संवाद जारी रहेको बताएका छन् । इरानले हालै अघि सारेको प्रस्तावबारे दुवै पक्षले आफ्ना टिप्पणीहरू आदानप्रदान गरिरहेका उनको भनाइ छ ।
पाकिस्तानको मध्यस्थतामा प्रस्ताव, संशोधन तथा परिवर्तन भइरहेका मागहरूको आदानप्रदान अझै जारी रहेको बताइएको छ । इरानले सुरुमा १४ बुँदे रूपरेखा प्रस्ताव गरेको थियो, जसलाई अमेरिकाले अस्वीकार गरेको थियो । त्यसपछि इरानी पक्षले मतभेद कम गर्ने प्रयासस्वरूप संशोधित प्रस्ताव पठाएको जनाएको छ ।
इरानले हिजो पाकिस्तानमार्फत अमेरिकाबाट थप संशोधनहरू प्राप्त गरेको र त्यसमा थप काम गर्दै आफ्नो अद्यावधिक धारणा पाकिस्तानलाई जानकारी गराएको बताइएको छ ।
हिजो मात्रै इरानको अर्ध–सरकारी ‘फार्स न्यूज एजेन्सी’ मार्फत आएका अप्रमाणित रिपोर्टहरूमा अमेरिकाले प्रतिबन्ध हटाउन, सबै मोर्चाहरूमा युद्ध रोक्न तथा रोक्का गरिएको इरानी सम्पत्ति पूर्ण रूपमा फिर्ता गर्न अस्वीकार गरेको दाबी गरिएको थियो ।
तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानी बाघेईले ती रिपोर्टहरूलाई केवल अड्कलबाजी भन्दै खारेज गरेका थिए । यद्यपि, उनले शान्तिपूर्ण युरेनियम संवर्धन गर्ने इरानको अधिकार पूर्ण रूपमा गैर–वार्तायोग्य रहेको स्पष्ट पारेका थिए ।
युरेनियम संवर्धनको विषय अहिले वार्ताको सबैभन्दा ठूलो अवरोधमध्ये एक बनेको छ । अमेरिकाले इरानसँग कम्तीमा दुई दशकसम्म शून्य संवर्धन कायम गर्न माग गर्दै आएको छ । इरानले भने २० वर्षको अवधिलाई अत्यधिक लामो समयका रूपमा हेरेको बताइएको छ ।
यद्यपि, सार्वजनिक रूपमा कडा अडान कायम राखे पनि केही स्रोतहरूले इरानी पक्षले सीमित लचकता देखाइरहेको सेत दिएका छन् । ती स्रोतहरूका अनुसार, इरान सम्भवतः तीनदेखि पाँच वर्षसम्मका लागि छोटो अवधिको संवर्धन स्थगनमा सहमत हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
#अमेरिका र इरान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)