जयराम पहिलोपल्ट विजेता
ekantipur.com · Fri Dec 10 01:12:36 GMT 2021
काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२१/२२ को पहिलो प्रतियोगिता काठमाडौं ओपनमा अन्तिम दिन बिहीबार रवि खड्का दुई स्ट्रोकको अग्रता लिएर रोयल नेपाल गल्फ क्लबमा प्रवेश गरेका थिए । तर, पार ६८ को गल्फ कोर्समा चार ओभर ७२ को खराब प्रदर्शन गरेपछि उनी उपाधिबाट वञ्चितमात्रै भएनन्, चौथोमै पुगे । यही मौकामा जयराम श्रेष्ठले ४ अन्डर ६४ खेल्दै १५ वर्ष लामो व्यावसायिक गल्फ करिअरकै पहिलो उपाधि जिते ।
चार दिने (७२ होल) को प्रतियोगिता ९ अन्डर २६३ मा टुंग्याउँदै ट्रफी कब्जा गरेका जयरामले भने, ‘पहिलाभन्दा पटिङमा निकै सुधार गरें । ग्रिनमा धेरै राम्रो भयो । त्यसैले करिअरकै पहिलो उपाधि जित्न सकें । यसमा धेरै खुसी लागेको छ । टुरका आउने प्रतियोगितामा यस्तै राम्रो खेललाई निरन्तरता दिन प्रयास गर्नेछु ।’ सर्वाधिक सफल नेपाली प्रो शिवराम श्रेष्ठका यी ३७ वर्षीय दाइले गत सिजनका नम्बर एक भुवन नगरकोटीको चुनौती दुई स्ट्रोकले पन्छाउँदै उपाधिसहित १ लाख १० हजार हात पारे । कुल ७ अन्डर २६५ खेलेका भुवनले ७४ हजार र तेस्रो भएका दिनेश प्रजापति (५ अन्डर २६७) ले ६० हजार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)