भुटानी शरणार्थी प्रकरणमा ठूला माछालाई छुट, साना रास्वपा सरकारको जालमा
bishowkhabar.com · Thu Jun 11 06:31:31 GMT 2026

काठमाडौं– बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ सुरु भएको छ ।
पूर्वमन्त्री, बहालवाला सचिव र अन्य उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी रहेको यस मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो ।
सरकारी वकिल कार्यालयले विभिन्न चरणमा दायर गरेका तीनवटा मुद्दालाई एकीकृत गरी अदालतले सुनुवाइ अघि बढाएको छ ।
समय अभावका कारण सरकारी वकिलको बहस सुरु हुन नपाउँदै मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत प्रतिवादी छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा करोडौँ रुपैयाँ ठगी गरिएको अभियोग उनीहरूमाथि छ ।
यता, अनुसन्धानका क्रममा नाम जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नैनकला थापा, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेसहित आठ जनाविरुद्ध थप अनुसन्धान गर्ने भनिए पनि तीन वर्षसम्म कुनै कारबाही अघि बढ्न सकेको छैन ।
कांग्रेस नेतृ आरजु देउवा र मञ्जु खाणलाई रकम बुझाइएको दाबीसम्बन्धी अडियो सार्वजनिक भए पनि त्यसतर्फको अनुसन्धान पनि अधुरै रहेको छ ।
बेचन झा पक्राउ परेपछि प्रकरणले नयाँ राजनीतिक मोड लिएको थियो ।
उनको पक्राउसँगै आरजु देउवालगायतमाथि अनुसन्धान सुरु भए पनि त्यसको केही समयमै सत्ता समीकरण फेरियो र प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले–कांग्रेस गठबन्धनको नयाँ सरकार बन्यो ।
नयाँ सरकार गठनपछि यस प्रकरणको थप अनुसन्धान प्रभावहीन बनेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
भुटानी शरणार्थी प्रकरण
काठमाडौँ
बेचन झा
न्यायाधीश नीतिज राई