जय ट्रफीको फाइनलमा पुलिस र आर्मी भिड्ने, प्रधानमन्त्री कप चैत ७ देखि सुरु हुने
lokaantar.com

नेपाल क्रिकेट संघ (क्यान) ले दुई ठूला घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै 'जय ट्रफी एलिट कप' को फाइनल खेल र 'प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता'को मिति तय भएको जानकारी दिएको हो।
क्यानका अनुसार गत फागुन ८ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको जय ट्रफीको समूह चरणबाट फाइनलमा पुग्न सफल दुई विभागीय टोलीहरू नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लबबीचको अन्तिम भिडन्त आगामी चैत ३ गतेदेखि सुरु हुनेछ। तीन दिवसीय ढाँचामा खेलाइने यो फाइनल खेल चैत ५ गतेसम्म काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
यसैगरी, राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार आयोजना हुन लागेको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष चैत ७ गतेबाट सुरु हुने भएको छ। वैशाख ४ गतेसम्म चल्ने यो प्रतियोगिता मुख्य गरी पर्सा र जनकपुरमा आयोजना गरिने क्यानले जनाएको छ।
प्रतियोगिताका केही खेलहरू भने काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा पनि सञ्चालन गरिनेछन्।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा यी प्रतियोगिताहरूले नेपाली क्रिकेटको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)