मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनमा अलैंची खेती विस्तार

gorkhapatraonline.com · Thu Jun 11 07:19:42 GMT 2026

लमजुङका सामुदायिक र कबुलियती वनमा ब्यावसायिक रुपमा अलैंची खेती विस्तार गरिने भएको छ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा कृषि वन प्रणाली प्रवर्धन कार्यक्रमअन्तर्गत सामुदायिक र कबुलियती वनमा अलैंची खेती विस्तार गर्न लागेको हो ।

कार्यालयका अनुसार जिल्लाका चारवटा सामुदायिक वन र एक कबुलियती वन समूहमा गरी १६ दशमलव ५ हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिनेछ । जिल्लाका अधिकांश कृषकको रुचि अलैची खेतीतर्फ बढ्दै गएकाले कृषकको चाहना र आय–आर्जनसँग जोडिने हुनाले कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सामुदायिक र कबुलियती वन क्षेत्रका उत्तिस र मल्लाटोका रुखको छहारी तथा खोल्सा–खोल्सी आसपासका क्षेत्र अलैची उत्पादनका लागि उपयुक्त देखिएकाले मर्स्याङदी गाउँपालिकाको दुई सामुदायिक वन, दोर्दीको एक सामुदायिक र एक कवुलियती वन र राइनासको एक सामुदायिक वनमा अलैचिका विरुवा रोपिने डिभिजन वन कार्यलयका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो ।

कार्यक्रमका लागि २० लाख ८५ हजार ५ सय रुपियाँ बजेट रहेको छ । कार्यक्रममा सहभागी वन समूहहरूको न्यूनतम १० प्रतिशत लगानी रहने छ भने यसवर्ष १ लाख २३ हजार ७ सय ५० विरुवा रोपिने भएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खनालका अनुसार कार्यक्रम सञ्चालनका लागि वन समूहसँग सम्झौता सम्पन्न भइसकेको छ ।

सबैभन्दा धेरै दोर्दी गाउँपालिका –५ स्थित भित्रीस्वारा सामुदायिक वनको ५ हेक्टर क्षेत्रफलमा ३५ हजार ५ सय विरुवा रोप्ने सम्झौता भएको छ । यसैगरी दोर्दी –८ कै रानीवन कवुलियती वनको २.५ हेक्टरमा १८ हजार ७ सय ५० विरुवा रोपिने छ ।

यसैगरी मर्स्याङ्दी गाउँपालिका –७ स्थित बराहपोखरी सामुदायिक वनको ४.५ हेक्टर क्षेत्रफलमा ३३ हजार ७ सय ५० र महभिर सामुदायिक वनको २.५ हेक्टरमा १८ हजार ७ सय ५० रोपिने भएको छ भने राइनास नगरपालिका –८ स्थित कालिका समुदायिक वनको २ हेक्टर क्षेत्रमा १५ हजार अ‍ैलिचीका विरुवा रोप्ने कार्यक्रम रहेको छ ।

हाल कृषकहरूले झाडी सफाइ तथा बिरुवा रोप्नका लागि खाडल खन्ने काम गरिरहेका छन् । यस कार्यक्रमले वन क्षेत्रको संरक्षणसँगै कृषकको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)