आर्थिक विधेयकका प्राविधिक र प्रक्रियागत त्रुटिको नैतिक जिम्मेवारी म लिन्छुः अर्थमन्त्री वाग्ले
corporatenepal.com · Thu Jun 11 07:30:59 GMT 2026

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटि कानुनी र विधिसम्मत प्रक्रियाअनुसार सच्याइएको दावी गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा बिहीबार उनले ती त्रुटि कर्मचारी तहबाट भएका मानवीय कमजोरीका कारण भएको दावी गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।
वाग्लेले बजेट निर्माण प्रक्रिया अत्यन्त संवेदनशील र समयको चापमा हुने भएकाले प्राविधिक तथा प्रक्रियागत त्रुटि हुन सक्ने बताए । उनले बजेट वक्तव्यमार्फत आय–व्ययको अनुमान सार्वजनिक भएपछि आर्थिक विधेयक संसदमा दर्ता गरिएको र त्यसपछिका प्रक्रियामा हतार हुँदा केही त्रुटि देखिएको बताए ।
Advertisement
वाग्लेले भने, ‘लामो समयसम्म निरन्तर काम गर्दा अन्तिम चरणमा केही अस्पष्टता र प्राविधिक कमजोरी रहन गए । त्रुटि पहिचान भएपछि सम्बन्धित कर्मचारीले सच्याउन सुझाव दिएका थिए र त्यसलाई विधिसम्मत प्रक्रियाबाट संशोधन गरिएको हो ।’ उनले विगतका वर्षमा पनि यस्ता संशोधन हुने गरेको उल्लेख गर्दै यस वर्ष गरिएको संशोधनलाई अस्वाभाविकरूपमा नलिन आग्रह गरे ।
उनका अनुसार कर तथा भन्सारसम्बन्धी केही व्यवस्थामा अस्पष्टता रहेकाले आवश्यक परिमार्जन गरिएको हो । भन्सार दरसम्बन्धी विवादबारे स्पष्ट पार्दै वाग्लेले रगत तथा खोप बोक्न प्रयोग हुने क्यारिअरलाई सुरुआतमा सामान्य वस्तुको वर्गमा राखिएको भए पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले छुट्टै वर्गीकरण गरी भन्सार दर समायोजन गरिएको वाग्लेले बताए ।
आफूविरुद्ध यसलाई देशद्रोह वा राजद्रोहजस्ता गम्भीर आरोपसँग जोडेर व्याख्या गर्नु उपयुक्त हुँदैन भन्दै उनले विद्युतीय सवारीसाधनसम्बन्धी शुल्क व्यवस्थामा पनि प्राविधिक त्रुटि भएको स्वीकार गर्दै उनले ५० लाख रुपियाँसम्म मूल्यका सवारीसाधनलाई लक्षित गरी सडक विकास शुल्क समायोजन गरिएको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले सबै संशोधन संसद् सचिवालयलाई जानकारी गराएर कानुनी प्रक्रियाअनुसार गरिएको दाबी गर्दै भने , ‘मैले आफैं टाइप गरेर गल्ती गरेको होइन, तर मन्त्रीका रूपमा त्यसको जिम्मेवारी लिनुपर्छ, त्यसैले मैले स्वामित्व लिएको हुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
स्वर्णिम वाग्ले