मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि राजनीतिकका आरोह–अवरोह

bishowkhabar.com · Thu Jun 11 08:54:19 GMT 2026

वि.सं. २०७९ को आम निर्वाचनभन्दा केही महिनाअघि मात्रै पूर्व टेलिभिजन प्रस्तोता रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपाले भ्रष्टाचार विरोधी नाराका साथ पहिलो प्रयासमै २१ सिट जितेर चौथो ठूलो दल बनेको थाल्यो । पछि यो दल माओवादी र एमालेको गठबन्धन सरकारमा सामेल भयो र रवि लामिछाने गृहमन्त्री बने । तर, उनको कार्यकाल विवादमुक्त रहन सकेन । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो । यसका साथै उनी विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा पनि मुछिए ।

लामिछानेले सञ्चारमाध्यमले आफूमाथि शत्रुतापूर्ण प्रहार गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरे र नेपालको सबैभन्दा ठूलो मिडिया हाउसका प्रकाशकलाई बहु–नागरिकताको अभियोगमा पक्राउ गर्न लगाए । सन् २०२४ को अक्टोबरमा लामिछाने सहकारी ठगीकै आरोपमा जेल परे । भदौ आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले उनलाई जेलमुक्त गराएका थिए । पछि अदालतमा आत्मसमर्पण गरी धरौटीमा छुटेपछि लामिछानेले चुनाव लडे । महान्यायाधिवक्ताले पनि गत माघमा उनीविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिए । यी तमाम विवादका बाबजुद रास्वपाको राजनीतिक साख र लोकप्रियतामा कुनै आँच आएन ।

नेपालका परम्परागत दलहरू जस्तो रास्वपासँग कुनै स्पष्ट र कडा वैचारिक पहिचान छैन । वामपन्थी पार्टीहरूको भीड र नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद तथा मधेशी दलहरूको पहिचानको राजनीतिको विपरीत रास्वपाको मुख्य आकर्षण भनेको ’वैकल्पिक राजनीति’ हो । यसले नीति निर्माण र सुशासनमा पुराना दलहरूको सिन्डिकेट तोड्ने र भ्रष्टाचार एवं नातावादको अन्त्य गर्ने वाचा गरेको छ ।

वि.सं. २०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएयता नेपाली जनताले मुख्यतया तीनवटा राजनीतिक धारहरू मात्रै रोज्नुपर्ने बाध्यता थियोः वामपन्थी, कांग्रेस र क्षेत्रीय पहिचानवादी दलहरू । यस पटक रास्वपाले एउटा स्पष्ट विकल्प दियो । यसका उम्मेदवारहरू कुनै विचारधारामा बाँधिएका थिएनन्; उनीहरू नीतिगत ज्ञान भएका प्राविधिक, आन्दोलनबाट आएका युवा नेता, पुराना दलमा ठाउँ नपाएका महत्वाकांक्षी अनुहार, पूर्व सुरक्षा अधिकारी, व्यापारिक घरानाका संभ्रान्त र स्वतन्त्र उम्मेदवारहरू थिए । वास्तवमा, यो पार्टी सुशासन र प्रणाली सुधारको एउटा साझा उद्देश्यका लागि पुराना दलहरूबाट असन्तुष्ट भएकाहरूलाई समेट्ने एउटा छाता संगठन बन्यो ।

रास्वपाले आफूलाई ‘जेनजी’ आन्दोलनको राजनीतिक उत्तराधिकारीका रूपमा प्रस्तुत ग¥यो र बालेन शाहको लोकप्रियतालाई क्यास गर्दै चुनावलाई राष्ट्रपतीय शैलीको ‘बालेन भर्सेज ओल्ड गाड्र्स’ को लडाइँमा परिणत गरिदियो । पार्टीले बालेनको चुनावी अभियानलाई निकै योजनाबद्ध रूपमा सञ्चालन ग¥योः उनले हरेक आठ दिनमा एउटा ठूलो आमसभालाई सम्बोधन गर्थे र जनतामाझ पुग्न दैनिक रूपमा थुप्रै रोड–शोहरू गरिए । ६६० सदस्यीय सामाजिक सञ्जालको डिजिटल टोलीले उनको सन्देश देशैभर फैलायो । रास्वपाले ४० वर्षमुनिका थुप्रै युवा अभियन्ताहरूलाई चुनावी मैदानमा उतारेको थियो ।

यसरी रास्वपाको यो अभूतपूर्व विजयका पछाडि मुख्यतयाः पुराना दलहरूको विकल्पका रूपमा स्थापित संगठन, युवा मतदातामाझ सामाजिक सञ्जालको व्यापक उपयोग, पुराना नेताहरूको असक्षमताप्रतिको चरम निराशा, भदौ आन्दोलनको दमनले निम्त्याएको आक्रोश र बालेन शाहको व्यक्तिगत क्रेज नै प्रमुख कारण बन्यो । पुराना दलहरूको परम्परागत शैली र भाषणबाजीले यस आँधीको सामना गर्न सकेन । दलभित्रको अन्तरघात र टिकट नपाएर असन्तुष्ट बनेका पुराना नेताहरूको निष्क्रियताले पुराना दलहरूलाई जगैदेखि हल्लाइदियो ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय