चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो
news24nepal.tv · Wed Oct 06 00:53:25 GMT 2021
इलाम । चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ। यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ। भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ। सूर्याेदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
कट्टेबुङको जंगलभित्र एकान्तस्थलमा रहेको घरबाट भारतीय कम्पनीका औषधि बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार यो औषधि कसले र किन ल्याएको भन्ने खुलेको छैन। प्यारालाइसिसले थलिएका दम्पती बस्ने घरमा ल्याएर लुकाइएको औषधि कसको भन्ने ती दम्पती स्वयंलाई पनि थाहा नभएको सशस्त्रले जनाएको छ। बरामद औषधि मंगलबार पशुपतिनगर भन्सारमा बुझाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)